सुमेरु अस्पतालले गर्यो पहिलो ‘स्वाप पेयर एक्सचेन्ज’ मिर्गौला प्रत्यारोपण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

सुमेरु अस्पतालले गर्यो पहिलो ‘स्वाप पेयर एक्सचेन्ज’ मिर्गौला प्रत्यारोपण



काठमाडौं । ललितपुर धापाखेल स्थित सुमेरु अस्पतालले आफ्नै परिवार भन्दा बाहिरका सदस्यबीचको मृगौला साटफेर गरेर गरिने प्रत्यारोपण (पेयर ट्रान्सप्लान्ट) सफलतापूर्वक सम्पन्न गरेको छ । अस्पतालले गत बुधबार मृगौला रोग लागेर प्रत्यारोपण गर्न पर्ने अवस्थामा पुगेका दुई बिमारीका परिवारका सदस्यबीचमा मिर्गौला साटासाट गरेर प्रत्यारोपण गर्ने कार्य सफलतापूर्वक सम्पन्न गरेको हो ।

मृगौला ट्रान्सप्लान्ट सर्जन तथा बरिष्ट युरोलोजिष्ट डा. विजय मान सिंह कटवालको नेतृत्वमा सिनियर सर्जन डा।डिभि कार्की, डा. किरणप्रसाद श्रेष्ठ डा.जियाउल हक नेफ्रोलोजिष्ट तथा ट्रान्सप्लान्ट फिजिसियन डा.ललितकुमार यादव र डा. सुमित आचार्य लगायत डा. महालक्ष्मी देउजा, डा. एजेलिया अमात्य र डा.कुमार श्रेष्ठ समेतको टिमले मृगौला प्रत्यारोपण सम्पन्न गरेका हुन् ।

मृगौला प्रत्यारोपण निरन्तर हुदै आएकोमा यो विशेष खालको (स्वाप पेयर एक्सचेञ्ज) जस्तो कठिन शल्याक्रिया सफलतापूर्वक सम्पन्न गर्न अस्पताल सफल भएको छ । नेपालमा दाताको अभावका कारण मृगौला प्रत्यारोपणको प्रमुख चुनौती बनेको छ । कानुनले नजिकको नातेदारले मात्र मृगौला दान गर्न सक्ने व्यवस्था गरेकोले मृगौला दान गर्न इच्छुक आफन्त र मृगौला फेर्नुपर्ने अवस्थामा पुगेका बिरामी बीच मृगौला आदानप्रदान गर्न नमिल्ने (म्याच नगर्ने) समस्या रहेको छ ।

मृगौला पिडीत दुई परिवारको बीच मृगौला आदानप्रदान गर्ने सहमति भएको खण्डमा सो समेत गर्न सकिने व्यवस्थाबारे धेरै बिरामी तथा परिवारमा जानकारी नहुने र भएको खण्डमा समेत मिल्दो अवस्था सृजना नहुने देखिएको छ । यस्तो अवस्थाको अन्त्य हुन सके देशभरका मृगौला पीडितले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यताबाट मुक्त हुन सक्ने अस्पतालले जनाएको छ । हालसम्म सुमेरु अस्पताल धापाखेलमा १९ वटा मृगौला प्रत्यारोपण सफलतापुर्वक सम्पन्न भइसकेको अस्पतालले जनाएको छ ।

प्रकाशित : ९ आश्विन २०८०, मंगलवार २०:४८