सूचीकृत कम्पनीलाई असोज मसान्तसम्म नवीकरण शुल्क बुझाउन नेप्सेको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सूचीकृत कम्पनीलाई असोज मसान्तसम्म नवीकरण शुल्क बुझाउन नेप्सेको आग्रह



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले सूचीकृत भएका कम्पनीहरुलाई असोज मसान्तभित्र नवीकरण शुल्क बुझाउन आग्रह गरेकाे छ। मंगलबार एक सूचना जारी गर्दै नेप्सेले सूचीकृत कम्पनीहरुलाई असोज ३० गतेभित्रमा नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो ।

यससँगै आर्थिक वर्ष २०८०/८१ को वार्षिक नवीकरण शुल्क बुझाउन बाँकी रहेका कम्पनीहरुले सो अवधिभित्र तोकिए बमोजिमको शुल्क बुझाउनु पर्ने छ । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को व्यवस्था अनुसार धितोपत्र र डिबेन्चर तथा म्युचुअल फण्डहरुको नवीकरण शुल्क छुट्टाछुट्टै तोकिएको छ । कम्पनीहरुको नवीकरण शुल्क चुक्ता पुँजीको आधारमा तोकिएको छ ।

नेप्सेका अनुसार ५० करोडसम्म चुक्ता पुँजी भएका कम्पनीहरुले वार्षिक ५० हजार रुपैयाँ नवीकरण शुल्क बुझाउनु पर्ने हुन्छ । त्यस्तै, सो भन्दा माथि पुँजी हुनेहरुले वार्षिक एक लाख रुपैयाँ नवीकरण बापत नेप्सेलाई बुझाउनु पर्ने व्यवस्था छ ।

त्यसैगरी, डिबेन्चर तथा म्युचुअल फण्डहरुको पनि चुक्ता पुँजी अनुसार शुल्क तोकिएको छ । ५० करोडसम्म हुनेले २५ हजार र ५० करोडभन्दा माथि चुक्ता पुँजी भएकाले वार्षिक ५० हजार रुपैयाँ नवीकरणको लागि बुझाउनु पर्छ । कम्पनीहरुले उक्त रकम अनलाइन मार्फत बुझाउनु पर्ने हुन्छ ।

प्रकाशित : ९ आश्विन २०८०, मंगलवार १५:१२