गैरफार्मासिष्टलाई खटाउने गर्दा बिरामीको स्वास्थ्यमाथि खेलवाड भयाे, फार्मेसी अनुगमन निरन्तर हुन्छ : स्वास्थ्यमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गैरफार्मासिष्टलाई खटाउने गर्दा बिरामीको स्वास्थ्यमाथि खेलवाड भयाे, फार्मेसी अनुगमन निरन्तर हुन्छ : स्वास्थ्यमन्त्री



काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नतले फार्मेसी क्षेत्रको सुधारका लागि अनुगमन र कारबाहीलाई निरन्तरता दिएको बताएका छन्। विश्व फार्मेसी दिवसका अवसरमा नेपाल फार्मेसी सङ्घद्वारा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले फर्मेसी क्षेत्रको संवेदनशीलताप्रति गम्भीर हुन आग्रह गर्दै सुधारको प्रयासका लागि निर्देशनसमेत दिए।

“अनुगमनका क्रममा धेरै ठाउँमा फार्मेसीले दिएको सेवामा औषधि होइन, विषादी दिइरहेको पायौँ । अनुगमनपछि सुधारको जुन अपेक्षा गरिएको हो, त्योअनुसार सुधार भएको छैन । कारबाहीको प्रक्रिया निरन्तर अघि बढेको छ”, उनले भने । उनले फार्मेसी सेवालाई गुणस्तरीय बनाउन फार्मासिष्टलाइ आग्रह गरे ।

“केही फार्मासिष्टले बिहान र बेलुका आफू बस्ने र अन्य समय गैरफार्मासिष्टलाई खटाउने गर्दा बिरामीको स्वास्थ्यमाथि खेलवाड भइरहेको छ । चिकित्सकको सिफारिस बिना लागुऔषध पनि वितरण भइरहेको छ । यस क्षेत्रको विकृतिलाई हटाउन हामी सबै गम्भीर बन्न आवश्यक छ”, उनले भने ।

उनले फार्मेसीको सङ्ख्या अनुसार फार्मासिष्ट परिचालन नभएको बताए। कार्यक्रममा मन्त्री बस्नेतलाई सङ्घले फार्मेसी क्षेत्र सुधारका लागि ऐतिहासिक कदम चालेको भन्दै सम्मान गरेको थियो । सङ्घका उपाध्यक्ष टेक विकले मन्त्री बस्नेतले मन्त्रालयको कामको प्रशंसा गर्दै फार्मेसीको दर्ता र नवीकरण स्थानीय तहबाट उपलब्ध हुनुपर्ने माग राखे ।

फार्मासिष्टहरुले गैरफार्मेसी व्यक्तिले औषधि पसल सञ्चालन गर्ने, स्थायी दरबन्दीको कमी, निरन्तर फार्मेसी शिक्षा, अनुगमन एवं मूल्याङ्कनको अभाव र फार्मेसी अभ्यासको स्तरोन्नतिका लागि सरकारबाट आर्थिक र प्राविधिक सहयोगमा कमी भएको बताए।

कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले विभागले तोकेको मापदण्ड पूरा गर्नुको विकल्प नभएको बताए। उनले फार्मेसी क्षेत्रको सुधारका लागि तत्काल काम थाल्नुपर्ने बताए। नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष प्रज्वल जङ्ग पाण्डेले डिजिटल फार्मेसी विकासमा जोड दिए ।

प्रत्येक वर्ष सेप्टेम्बर २५ मा विश्व फार्मेसी दिवस मनाइँदै आएको छ । यसवर्ष स्वास्थ्य प्रणाली सुदृढीकरणमा फार्मेसी’ भन्ने नारासहित देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाइदैछ । नेपालमा छ हजार फार्मासिष्ट र १२ हजार सहायक गरी १८ हजार फार्मासिष्ट छन् ।

प्रकाशित : ८ आश्विन २०८०, सोमबार १६:२८