अब एनआरएनलाई गैरआवासीय नागरिकता, यस्तो छ प्राप्त गर्ने तरिका « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

अब एनआरएनलाई गैरआवासीय नागरिकता, यस्तो छ प्राप्त गर्ने तरिका



काठमाडौँ । सरकारले नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित गरेको छ । बिहीबार नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित भएको हो । यससँगै गैरआवासीय नेपाली नागरिक (एनआरएन) लाई गैरआवासीय नागरिकता लिने बाटो खुला भएको छ ।

नागरिकता ऐनमा गैर आवासीय नेपाली नागरिकताको व्यवस्था गरिए अनुशार नियमावलीले यसको कार्यविधि तय गरेको छ । राजपत्रमा प्रकाशित नियमावली अनुशार गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने व्यक्तिले कुन कुन प्रकृया अपनाउने भन्नेबारे स्पष्ट पारिएको छ ।

ऐनको दफा ७क को उपदफा १ बमोजिम गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने व्यक्तिले तोकिएका कागजात संलग्न गरी तोकिएको ढाँचामा आफू वा आफ्नो बाबु, आमा, बाजे वा बज्यैमध्ये जसको नेपाली नागरिकताको प्रमाणपत्रको आधारमा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिने हो सो नागरिकताको प्रमाणपत्र जारी भएको जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष वा आफू नागरिक रहेको मुलुकस्थित वा त्यस्तो मुलुक समेत हेर्ने कार्यक्षेत्र तोकिएको नेपाली राजदूतावास वा महावाणिज्य दूतावासमा निवेदन दिन सक्नेछन् ।

यस्तो नागरिकता लिन चाहने गैरआवासीय नेपालीले आफू वा आफ्नो बाबु, आमा बाजे वा बज्यैमध्ये जसको नेपाली नागरिकताको आधारमा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिने हो सोही नागरिकताको प्रमाणपत्र जारी भएको जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ ।

गैरआवासीय नेपाली नागरिकता लिनका लागि हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपि, नेपालको संविधान मान्ने प्रतिवद्धता, विदेशी नागरिकता लिएको प्रमाण आदि कागजात पेश गर्नुपर्नेछ । सार्क राष्ट्रमा बसोबास गर्नेहरुले भने गैरआवासीय नेपाली नागरिकता पाउने छैनन् ।

गैरआवासीय नेपालीले नागरिकताका लागि निवेदन दिएपछि नेपाली दूतावास वा महावाणिज्य दूतावासले १५ दिनभित्र सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन पठाउनुपर्नेछ । यसरी निवेदन आएपछि प्रमुख जिल्ला अधिकारीले ती गैर आवासीय नेपालीलाई चिन्ने एक नेपाली नागरिकले सनाखत गर्नुपर्नेछ ।

प्रमुख जिल्ला अधिकारीलाई गैर आवासीय नेपालीले पेश गरेको विदेशको नागरिकता र राहदानीमा शंका लागेमा सम्बन्धित राजदूतावास वा महावाणिज्य दूतावासलाई वैधता जाँच गर्न लगाउन सक्नेछ । यसरी वैधता जाँचको निवेदन आएमा १५ दिनभित्र दूतावास वा महावाणिज्य दूतावासले बुझेर जानकारी गराउनुपर्छ । गैरआवासीय नेपाली नागरिकता दिनुअघि प्रमुख जिल्ला अधिकारीले सम्बन्धित व्यक्तिलाई नेपालको संविधान र कानुन मान्ने प्रतिवद्धता अर्थात शपथ गराउनुपर्नेछ ।

प्रकाशित : ५ आश्विन २०८०, शुक्रबार १२:२०