देशकै उत्कृष्ट सहकारी बनाउने उद्देश्य अनुसार काम गरिरहेका छौं « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कुराकानी

देशकै उत्कृष्ट सहकारी बनाउने उद्देश्य अनुसार काम गरिरहेका छौं




सयपत्री साकोसको स्थापना र पृष्ठभूमिबारे छोटकरीमा बताइदिनुहोस न ?

समग्रमा भन्नुपर्दा ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने नारालाई आत्मसात गर्दै स्थापना भएको हो । यो संस्था सदस्यहरुकै सृजना हो, यसको सफलता भनेको सदस्यहरुकै हित र कल्याण हो । संस्थाका सदस्य साधन र साध्य दुबै हुन् । सहकार्यको माध्यमबाट समुदायको चौतर्फी बिकास गर्न सकिन्छ भन्ने अभिप्रायले सहकारिताको आधारभुत मूल्य र मान्यतालाई आत्मसात गर्दै सहकारी सिद्वान्तलाई व्यवहारमा लागू गरी आफ्ना सदस्यहरुलाई आर्थिक बिकासको माध्यमबाट सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनका लागि संस्था स्थापना भएको हो ।

वि.स.२०५७ साल भाद्र ३१ गते यस क्षेत्रका ४१ जना युवा, बुद्विजिवी तथा सहकारी प्रेमीहरुको सकृयतामा सिमित पूँजी ४१ हजार रुपैंयाँबाट सँस्थाको स्थापना भएको हो ।

सहकारी संगठन निम्न आयवर्गीय गरीब जनसमुदायको आर्थिक संगठन भएकोले यसको मूलभूत उद्देश्य उनीहरुको अािर्थक उत्थान गरी सामाजिक न्याय र समानता दिलाउनु हो । व्यक्ति व्यक्तिको एकल प्रयासबाट उसको इच्छा, आकांक्षा र चाहना पूरा हुन नसक्ने भएकाले यसको परपूर्तिको लागि सामूहिकरुपमा संगठित भएर सहकारीको सिद्धान्त, मूल्य र मान्यताका आधारमा काम गनेृ वातावरण सिर्जना गरी आपसमा मितव्ययिता, स्वावलम्बन र पारस्परिक सहयोगको भावना अभिवृद्धि गर्नु पनि सहकारीको उद्देश्य रहेको छ ।

समाजमा व्याप्त गरीबी, बेरोजगारी, अािर्थक शोषण, अन्याय, अत्याचार, थिचोमिचो, भेदभावपूर्ण व्यवहार, व्यापारिक एकाधिकारजस्ता आर्थिक एवं सामाजिक विसंगतिहरुको अन्त्य गरी सहकारीताको माध्यमबाट समाजका निम्न आयवर्गीय गरीब जनसमुदायको जीवनस्तर उकास्न र उनीहरुलाई सामाजिक न्याय दिलाउन सकिन्छ भन्ने उद्देश्यले संस्था स्थापना भएको हो ।

जुन बेला संस्था स्थापना गर्नुभयो त्यो बेला आम सदस्यहरुको बुझाई सहकारीप्रति कस्तो थियो ?


देशमा भर्खरै सहकारीहरु खुल्ने क्रम थियो । समाजमा चर्कोब्याजमा सानो रमकहरु पनि सयकडा पाँच रुपंैयाँसम्म तिर्न मानिसहरु बाध्य थिए । पैसा जम्मा गर्न सिकाउने पर्याप्त वित्तिय संस्थाहरु यस क्षेत्रमा थियनन् । हामीले आफ्ना सदस्यहरुलाई सानो सानो रकमहरु नियमित बचत गर्न र खाँचो पर्दा अप्ठेरो फुकाउने काम गर्न थाल्यौं । सहकारी शिक्षामार्फत सदस्यहरुलाई वित्तिय साक्षरता प्रदान गरि सहकारी बुझाउँदै आजको अवस्थामा आईपुग्यौं ।

जुन उद्देश्य लिएर संस्था स्थापना भएको थियो । त्यो उद्देश्य प्राप्तिमा कत्तिको सफल भएको महशुस भइरहेको छ ?
सदस्यहरुलाई सानो सानो रकमहरु नियमित बचत गर्न र खाँचो पर्दा अप्ठेरो फुकाउँदै सम्पूर्ण वित्तिय आवश्यकता पुरा गर्ने र देशकै उत्कृष्ट सहकारी बनाउने उद्देश्य राखी संस्था स्थापना गरेका थियौं । आज संस्थाले लिएका उद्देश्य क्रमशः पुरा हुँदै गएका छन् ।
संस्थाको लगानीबाट सदस्यहरुको जीवनस्तरमा के कस्ता परिवर्तन देख्न सकिन्छ ?


संस्थाले आफ्ना सदस्यहरुलाई आत्मनिर्भर, ब्यवसायी र उद्यमी बन्न सिकाएको छ । धेरै सदस्यहरु सफल ब्यवसायी, उद्योगपती उद्यमी बन्नुभएको छ ।
संस्थामा आवद्ध कति सदस्यले ऋण लिएर व्यापार व्यवसाय गर्दै आएका छन ?

हाल संस्थामा ३२६४ जना सदस्यहरुमा १०६५ जना सदस्यहरुले ऋण लिई बिभिन्न ब्यवसाय, कृषि पेशा संचालन गरिरहनु भएको छ ।

सहकारी बचत ऋणमा मात्र केन्द्रित भए, उत्पादनमा जोडिन सकेनन् भन्ने आरोप पनि छ नि ?


सहकारीको यथार्त तथ्यांक राज्यसँग छैन । राज्यले त्यस किसिमको संयन्त्र निर्माण गर्न सकेको छैन । त्यसकारण यस किसिमको आरोप आउने गरेको हो । सहकारीको माध्यामबाट उत्पादनमा धेरै बृद्धि भएको छ तर यथार्थ तथ्यांक नभएका कारण डिजिटलमा प्रस्तुत गर्न सकिएको छैन ।


सहकारीमार्फत आर्थिक, सामाजिक रुपान्तरणको सम्भावना र चुनौतीलाई कसरी लिन सकिन्छ ?


नेपालमा परापूर्व कालदेखि नै आपसी सहयोग एवं समस्या समाधानका लागि गुठी, ढिकुरी, मंका खलः, अर्मपर्म, धर्मभकारीजस्ता परम्परागतरुपमा सहकारीको प्रचलन भएको पाइन्छ । आज संसारका सबै विकसित एवं विकासोन्मुख देशहरुमा सहकारीको प्रयोग कुनै न कुनै रुपमा भैरहेको पाइन्छ । संसारमा विभिन्न देशहरुको सहकारी आन्दोलनको मूख्य लक्ष्य गरीवी निवारण, आर्थिक, सामाजिक शोषणको अन्त्य र गरीब जनतालाई रोजगारीका समान अवसर प्रदान गर्नु हो । निम्न आय वर्गीय व्यक्ति, वा समुदायको आर्थिक उत्थान गर्नु एवं सामाजिक न्याय र समानता दिलाउनु सहकारी आन्दोलनको मुख्य लक्ष्य हो । सहकारीको माध्यमबाट नै गरीब जनताहरु आत्मनिर्भर बन्छन् र आफ्नो लागि नै कुनै पनि व्यवसाय गरी राम्रो जीवनयापन गर्न सक्छन् भन्ने सहकारीको मान्यता रहेको पाइन्छ ।


संस्था स्थापनाको दुई दशक नाघेको छ । अर्थात संस्था स्थापनाको २३औं वर्ष पुगेको छ, यस बीचका सफलताहरुलाई छोटकरीमा बताइदिनुहोस न ?

हामीले दुःख, संघर्ष, अधिक मेहेनत गरेर संस्थाको गरिमालाई उच्चो बनाउने प्रयास निरन्तर जारी राखेका छौं । धेरै हदसम्म सफलता हात पारेका छौं । यो सफलताको पछाडि ठूलो सदस्यहरुको ठूलो हात छ र कर्मचारीहरुको मेहेनत जोडिएको छ । समग्रमा हाम्रो सफलतालाई छोटकरीमा यहाँ उल्लेख गर्न चाहन्छु ।
२०७४ मा जिल्ला बचत तथा ऋण सहकारी संघबाट उत्कृष्ट सहकारी
२०७५ मा जिल्ला सहकारी संघबाट नवलपरासीबाट उत्कृष्ट सहकारी
२०७५ मा पहिलो पटक राष्ट्रिय स्तरको गुणस्तरिय प्रोबेसन ब्रान्ड पाउन सफल
२०७६ मा दोस्रो पटक राष्ट्रिय स्तरको गुणस्तरिय प्रोबेसन ब्रान्ड पाउन सफल
२०७७ मा तेस्रो पटक राष्ट्रिय स्तरको गुणस्तरिय प्रोबेसन ब्रान्ड पाउन सफल
२०७७ मा राष्ट्रिय सहकारी बैकबाट लुम्बिनी प्रदेशको उत्कृट सहकारी
२०७७ मा सुनवल नगरपालिका द्धारा नगरभरिको सर्वोत्कृष्ट सहकारी
२०७८ मा नेफ्स्कूनबाट लुम्बिनी प्रदेशको उत्कृट साकोस
२०८० मा नेफ्स्कूनबाट लुम्बिनी प्रदेशको उत्कृट ब्यवस्थापक

प्रकाशित : २४ भाद्र २०८०, आईतवार १५:३१