कम्पनीहरुले बीमा भुक्तानी नगर्दा प्राधिकरणमा उजुरीको ओइरो, कारवाहीको माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

कम्पनीहरुले बीमा भुक्तानी नगर्दा प्राधिकरणमा उजुरीको ओइरो, कारवाहीको माग



काठमाडौं । बीमा कम्पनीहरुले बीमितलाई गर्नुपर्ने दाबी भुक्तानी नगरेपछि बीमा प्राधिकरणमा उजुरी बढ्दै गइरहेको छ। सञ्चालनमा रहेका १४ वटा जीवन बीमा र १४ वटा निर्जीवन बीमा कम्पनीले बीमितलाई दाबी भुक्तानी नगर्दा प्राधिकरणमा उजुरी बढ्दै गएको हो।

प्राधिकरणले दाबी भुक्तानी बर्ष मनाउने अभियान अघि बढाउदै आएपनि नारा नारामा मात्रै सिमित भएको छ । दाबी भुक्तानीमा कम्पनीहरुले विभिन्न झमेला लगाएर ग्राहक (बीमित) लाई भुक्तानी दिनै ढिला गर्ने, अलमल्याउने र रोक्का गर्ने गरेकाले बीमकहरुलाई कारबाहीको माग गर्दै प्राधिकरणमा निवेदन पर्ने गरेका हुन् ।

बीमा प्राधिकरणको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म १४८३ वटा उजुरी परेका छन् । गएको आर्थिक वर्षमा प्राधिकरणले १५० वटा मुद्दाको फैसला गरेको छ भने १९१ वटा मुद्दा फैसला गर्न बाँकी छ । त्यसमध्ये ५९८ वटा अर्थात कुल उजुरीको ४०.३२ प्रतिशत मुद्दाको मात्रै फैसला भएको छ ।

गएको आर्थिक वर्षमा प्राधिकरणमा कुल ३४१ वटा उजुरी परेका थिए । जसमध्ये १५० वटा मुद्दाको फैसला भएको छ भने १९१ वटा मुद्दा फैसला गर्न बाँकी रहेको छ । प्राधिकरणमा ३४१ जना बीमितले मुद्दा दर्ता गराएका थिए भने आधाभन्दा बढी बाँकी फैसला हुन बाँकी छ । यसमध्ये गत आर्थिक बर्षमा जीबन बीमाअन्र्तगत ५१ वटा उजुरी परेको छ । साथै, निर्जीबन बीमा अन्र्तगत १०४ वटा उजुरी परेको छ ।

बीमा प्राधिकरणमा आर्थिक वर्ष २७४/७५ मा जम्मा ११६, २०७५/७६ मा १८७ वटा, आर्थिक वर्ष २०७६/७७ मा २२८ वटा, आर्थिक वर्ष २०७७/७८ मा २७३, आर्थिक वर्ष २०७८/७९ मा ३३८ तथा आर्थिक वर्ष २०७९/८० मा ३४१ वटा मुद्दा दर्ता भएको देखिन्छ । जीबन बीमा र निर्जीबन बीमाको हिस्सा हेर्ने हो भने यी ५ आर्थिक बर्षमा जीबन बीमा अन्र्तगत २४४ वटा मुद्दा दायर भएका छन् । निर्जीबन बीमा अन्र्तगत ५२५ वटा मुद्दा दायर भएका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले उजुरी माथि फैसला गर्ने कामलाई तिब्रता दिएको बताए । ‘दाबी भुक्तानीलाई प्राथमिकता दिएर यो वर्ष दाबी भुक्तानी वर्ष मनाएका छौं,’ पौडेलले भने, ‘प्राधिकरणले एकपक्षको मात्रै सुनुवाइ गर्दैन, पारदर्शी ढंगबाट दुवै पक्षको कुराको छिनोफानो गरी चाँडै रोकिएका उजुरीको फैसला गर्नेछौँ।’  बीमा व्यवसायमा नयाँ प्रविधि भित्र्याउने गरी काम गर्ने र डिजिटलाइज्ड रूपमा दाबी भुक्तानी दिने व्यवस्था गर्न ध्यान दिनुपर्ने बताए ।

बीमितले जोखिम व्यवस्थापनको लागि गरेको बीमाको दाबी भुक्तानीको लागि सम्बन्धित कम्पनीमा दाबी गर्छन्। बीमकले क्षति मूल्यांकन गरी बीमकलाई दाबी भुक्तानी गर्छ।

यदि बीमक (बीमा कम्पनी)ले बीमित (पीडित)को दाबीअनुसार भुक्तानी नपाए ग्राहकले बीमकविरुद्ध प्राधिकरणमा उजुरी दिने गर्दछन्। प्राधिकरणमा परेको उजुरीलाई हेर्दा अधिकांश बीमा कम्पनीले पीडितलाई दाबी भुक्तानी नदिएको देखिन्छ।

दाबी भुक्तानी प्रक्रिया झन्झटिलो हुँदा बीमा व्यवसाय समेत अपेक्षाजनक रुपमा बढ्न नसकेको देखिन्छ। नेपालमा बीमा व्यवसाय जुन हिसाबले बढनुपर्ने थियो सोहीअनुरुप बढ्न नसक्नुको एक कारण दाबी भुक्तानी समस्या रहेको पनि जानकारहरु बताउँछन्।

गत आर्थिक बर्ष जीबन बीमा कम्पनीहरुले ५८ अर्ब ९७ करोड ९२ लाख ४५ हजार रुपैंको दाबी भुक्तानी गरेका छन् । त्यस्तै, निर्जीबन बीमा कम्पनीहरुले २१ अर्ब २८ करोड ५८ लाख भन्दा बढीको दाबी भुक्तानी गरेका छन् ।

प्रकाशित : ९ भाद्र २०८०, शनिबार २१:२०