मीनबहादुरले मानार्थ विद्यावारिधि पाउनुपर्ने हो, जेलमा पो कोचिदिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मीनबहादुरले मानार्थ विद्यावारिधि पाउनुपर्ने हो, जेलमा पो कोचिदिए



मीनबहादुर भ्रष्ट हुन् । मीनबहादुरले बेइमानी गरेर धन कमाएका हुन् । मीनबहादुरलाई सरकारले खोरमा थुनेको छ ‘आदिइत्यादि खबर,चर्चा र परिचर्चा यो काठमाडौँको खाडलभित्र मात्र नभएर अहिलेको सुगम सञ्चारका माध्यमले देश र विदेशका कुनाकन्दरासम्म पुर्याएको छ ।

खासमा मैले लेख्न खोजेको मीनबहादुर थोरै र भाटभटेनी सुपर मार्केट धेरै हो । भाटभटेनीको अर्थ मीनबहादुर र मीनबहादुरको अर्थ भाटभटेनी भन्ने नै लाग्छ ।

भाटभटेनी नाउँका देवदेवीको नाउँबाट स्थापना गरिएको एउटा भाटभटेनी सुपर मार्केट अनेक भाटभटेनी सुपरमार्केट भइदिँदा भाटभटेनीको नै अर्थ बिस्तार भएको छ । यसैले नै भाटभटेनी र मीनबहादुर एकअर्काका पर्याय बनेका छन् । अर्थात् यी दुई फरकफरक हुन् र पनि एकाकार भइसकेका छन् । हुन त अहिलेको हाम्रो नेपाली वातावरण प्रदुषणले व्याप्त छ । त्यसैले मीनबहादुरको प्रशंसा गरेर लेख्नेलाई मीनबहादुरको भाट वा उनको पैसामा बिकेको भनिन्छ ।

तर मेरो मीनबहादुरसँग तीन तेह्र र सुक्को दामको पनि सम्बन्ध छैन है साथी हो !

न त मलाई उनीसँगबाट सुक्को दामको अपेक्षा नै छ । मैले उनलाई चिन्नसम्म चिनेकी छु तर उनले मलाई चिनेका छैनन् । उनीसँग मेरो प्रत्यक्ष परिचय समेत छैन र म उनीसँग परिचय गर्न पनि लालयित छैन । यति हुँदाहुँदै पनि भाटभटेनी सुपर मार्केटमा पुगेका बेला मैले सधैँ मीनबहादुरप्रति गौरवी अनुभूति गरेकी हुन्छु । एउटा नेपाली छोरोको योजना र व्यवस्थापन देखेर म सधैँ प्रभावित भएकी छु । पछिल्ला दिनहरूमा काठमाडौँ लगायत देशैभरि पच्चिस ओटा भाटभटेनी सुपर मार्केट सानोतिनो मुटु र योजनाले सञ्चालन गर्न सक्तैन भन्ने अनुभूति म गर्थेँ ।

अहिले अलिकतिमात्र हुने खाने मानिसले चाहिएको बस्तु सहजै किन्नका लागि ुभाटभटेनीु नाउँ लिएकै अवस्था छ । त्यति विशाल व्यवस्थापनका कारण बस्तुको मूल्यमा पक्कै पनि वृद्धि गरिएको हुनसक्छ । नेपालको सरकारले बजार नियन्त्रणका सन्दर्भमा आँखा चिम्लिने भएका कारण सम्पूर्ण बजार अनुगमन गरियो भने एकै गुणस्तरका बस्तुका पसलैपिच्छे मनलागि मूल्यमा बिक्री गरिएको पाउनु अनौठो होइन ।

अहिलेको हाम्रो नेपाल भनेको शिरदेखि खुरसम्मका लागि पशुपति शर्मा नामक गायकको प्रसिद्ध गीत ुलुट कान्छा लुटु (लुकालु) भएकै छ । त्यसैले सरकारले गतिछाड्नाको फाइदा भाटभटेनीले पनि नउठाएको होला त भन्न सकिन्न । यति हुँदाहुँदै पनि वर्तमान समयका एकवर्गका क्रेताका लागि भाटभटेनी विकल्परहित भने बनेकै छ । मीनबहादुरलाई जेलमा हालेको समाचार आएपछि भने विराट योजनाकारको यसरी तेजोवध गरेपछि यो संस्था आगामी दिनमा कसरी अघि बढ्ने हो रु भाटभटेनी पुगेपछि मलाई बेस्सरी तनाव हुने गर्छ ।

एउटा नेपाली, त्यो पनि जनजातिको छोरोले नेपाली धरतीमै व्यापार व्यवसाय गरिराखेका थिए । यो देशमा अहिलेसम्म शिरदेखि खुरसम्मकाले भ्रष्टाचार गरेर देशै खोक्रो पारेको तथ्याङ्क पनि छ्याप्छ्याप्ति आएकै छन् । चप्पलको लोती चुँढिँदा फेर्ने पैसा नभएर सेप्टिपिनले अल्झाएर चप्पल लाउनेहरूको राजनीति व्यापार फस्टाएर आलिशान बङ्गला, प्राडो पजेरोको सवारी, ठूलाठूला र महङ्गा नीजि विद्यालय र अस्पतालहरूका मालिक, देशीभन्दा विदेशी बैँकमा ब्यालेन्स, देशभित्र मात्र नभएर विदेशी भूमीमा छोराछोरीका लागि आवास खरिदारीजस्ता क्रियाकलाप हामीले सुन्दै आएका छौँ ।

यसको अर्थ सबैले भ्रष्टाचारै गरेर धन कमाउनु पर्छ भन्न खोजिएको पनि होइन । तर हाम्रो देशमा भ्रष्ट त जताततै गौरवी शिर उठाएर बाँचेका छन् । उनको भ्रष्टाचार छोप्ने अनेक दाउले उनीहरू महाचोखा पनि बनेका छन् । मैले त यस लेखन मार्फत बलिको बोको मीनबहादुरलाई बनाइएकोमा आपत्ति प्रकट गरेकी मात्र हुँ ।

मीनबहादुरले यस देशमा यति धेरै लगानी गरेका छन् जसले गर्दा उनी भागेर अन्य देशमा त पक्कै जाँदैन थिए । ज्यानमाराहरूलाई सम्मानित गर्ने हाम्रो देशमा मीनबहादुरलाई हतकडी लगाएर जेलमा राखेको सुहाएको छैन भन्न पाइन्छ या पाइँदैन ?

हो, मीनबहादुरले अपराधै गरेका छन् भने उनीसँग स्पष्टिकरण लिने, अनुसन्धान गर्ने, मुद्धा चलाउने, तारिकमा राख्ने काम गर्न सकिँदैन थियो र ? मीनबहादुरले धनार्जन गर्न केकस्ता अपराध गरेका छन्, त्यसको खोजि गर्नु पर्दैन म भन्दिन । उनले गलत गरेका भए उनी पनि दण्डको भागिदार हुनुपर्छ । दण्डहिनता र अन्यायले समाज अधोगतितर्फ जान्छ भन्ने प्रमाण हाम्रै समाजमा देखापरेकै छ । तर मीनबहादुरले सञ्चालन गर्दै आएको बन्दव्यापारै नष्ट पार्ने उद्धेश्यले यो उद्धम गरिनु भने निन्दनीय छ ।

त्यसो त Money is Crime भनेर कार्लमाक्सले नै भनेका छन् । मीनबहादुरले पनि छोटो अवधिमा त्यति धेरै धन कसरी आर्जन गरे हुन् रु यो प्रश्न जसले पनि उठाउन सक्छ । यति हुँदाहुँदै पनि मीनबहादुरले भन्दा धेरै धन र मीनबहादुर भन्दा पनि छोटो समयमा उनको भन्दा सयौँ गुनाले धनआर्जन गर्ने मानिसहरू पनि यहाँ छन् । तिनीहरूद्वारा आर्जित धन तिनका सन्तान, आसेपासे र तिनका झोले बाहेक अरूका भागमा परेको देखिँदैन ।

मीनबहादुरले कसरी धन कमाए मलाई थाहा पनि छैन, जसरी समाजका अरूहरूले कमाएको धनको स्रोत मैले खोज्ने होइन, मीनबहादुरको पनि मैले खोज्ने होइन । तर मीनबहादुरले यो समाज र राष्ट्रका लागि समाजमा देखिने नै गरी के कति गरेका छन् त्यसको सामान्य लेखाजोखा मैले राख्नु पर्छ भन्ने मलाई मेरो विवेकले अह्रायो । जसले गर्दा मैले यो लेखनका लागि वाध्य हुनुपर्यो । मीनबहादुरले नेपाल राष्ट्रभित्र गरेको व्यावसायिक व्यवस्थापनका लागि नेपालका विश्वविद्यालयले मानार्थ विद्यावारिधि दिनुपर्ने हो या होइन ? तर यहाँ त उनलाई जेलमा पो कोचिएको छ ।

-म व्यवस्थापनको विद्यार्थी हुनाले मैले भाटभटेनीलाई यसरी बुझेकी छु ।
-उपभोक्ताका लागि थरिथरिका बस्तु एकै स्थलमा क्रयको सहज सुविधा व्यवस्था गरिदिने व्यापारिक निकाय खास गरेर पर्यटक वा विदेशी पाहुनाहरूका लागि अत्यन्त सहज र सुगम क्रयस्थल ।
-उत्पादकका लागि धेरै थरीबस्तु एकै स्थलमा विक्रयको अवसर दिलाउने संस्था ।
-नेपालजस्तो बेरोजगारीले पिडीत धेरै बबुरा नेपाली युवाहरूलाई रोजगारीको अवसर दिने संस्था ।
-गतिलो व्यवसाय सञ्चालन गरेर सरकारी ढुकुटीमा गतिलो राजश्व थपिदिने संस्था आदिइत्यादि

मैले पाँच दशकअघि आफूले व्यवस्थापन विषय पढेताका किताबका पानामा उल्लेखित व्यापारिक विशाल मलहरू मेरा लागि किताबी मात्र थिए । साढे दुई दशक जति मैले क्याम्पसमा पढाउँदाको अघिल्लो समयमा पनि मैले नै त्यस्ता व्यापारिक मलहरू देखेकै थिइन । नेपालमा ती थिएनन् र मलाई विदेश जाने अवसर प्राप्त भएको थिएन । अनि अहिलेका पुस्ताले जेसुकै पनि सजिलै बुझ्न पाउने गुगल, युट्युब आदिको कल्पना पनि त्यस बेलाको मेरो युगमा थिएन । त्यसैले आफूले पढेर जानेको ग्राहकलाई हवाइजहाजदेखि सियोसम्म एकै ठाउँमा उपलब्ध गराउने व्यापारिक प्रयोजनका मलु भन्ने किताबी कुरा नै विद्यार्थीलाई पनि पढाइयो ।

अहिले काठमाडौँ खाल्डोमा मात्र नभएर देशका अधिकांश प्रदेशका सदरमुकाममा समेत गरेर २५ ठाउँमा भाटभटेनी सुपरमार्केट खोलिसकेको अवस्था छ । यो कसले खोल्यो ? यसको परिकल्पनाकार को हो ? यसको सरल र सहज जवाफ मीनबहादुर गुरुङसँग मात्रै हुन्छ ।

भाटभटेनी सुपरमार्केटका सन्दर्भमा मैले चाल पाएका मीनबहादुरका अन्य गौरवी कृत्य पनि छन् । जस्तो कि महाराजगञ्जको टिचिङ अस्पतालमा वर्षौदेखि इमरजेन्सी वार्ड बन्न नसकेर बिरामीहरूको विचल्ली हुने गरेको म आफैँले पनि देखे भोगेकी हुँ । उक्त समस्यालाई आफ्ना मातापिताको लोभलाग्दो सालिकसहितको गज्जबको ईमरजेन्सी वार्ड टिचिङकै हातामा मीनबहादुरले बनाइदिएका छन् ।

यसका साथै दुर्गमका दुईजना विद्यार्थीका लागि एम् बी बी यसको छात्रवृति दिने गरिएको पनि मैले समाचारबाट थाहा पाएको अर्को गौरवी कुरा हुँदै हो । अरू पनि उनीबाट भएका सामाजिक कार्य होलान् तर तीबारे म सुसूचित छैन । नेपालीको छोरोले सम्पत्ति आर्जन गरेर नेपालभित्रै व्यापार व्यवसाय गरेका छन् । सयौँ नेपाली युवालाई रोजगारीको अवसर दिएका छन् । मैले बुझेसम्म यो हाम्रो देशका लागि धेरै ठूलो कुरा हो ।

मैले गाइँगुइँ सुने अनुसार मीनबहादुरले हाम्रो विशाल दक्षिणी छिमेकी देशमा आफूले आर्जन गरेको पैसा थन्काउन नजाने, आफ्नो आर्जनको हिस्सा नबुझाउने, अथवा उताकाका पाउमा आफ्नो नेपाली स्वाभिमान नझुकाउने भएकाले र उतैका आसेपासेहरूलाई मीनबहादुरको बढ्दो भाटभटेनी व्यवसायले आघात पार्दै लगेको कारणले मीनबहादुर केही नेपाल चलाउने व्यापारीकै आँखाका कसिङ्गर भएको पनि हुन सक्छन् ।

देशभक्त मदन भण्डारीको हत्या र राष्ट्रप्रेमी राजा वीरेन्द्रको वंश नाश गराउनेहरू नै मीनबहादुरहरूलाई नष्ट पार्ने योजनामा लागेका त होइनन् भन्ने चर्चा पनि सुन्ने गरिन्छ । यो चर्चाका कुरा सत्य असत्य के हुन् ? यथार्थ मैले भन्नसक्ने कुरा पनि भएन । गर्ने र गराउनेलाई नै यो कुरा थाहा होला । नेपालमा अब राष्ट्रवादी आवाजहरू सिध्याउँदै जाने खेलामा पनि मीनबहादुरजस्ता राष्ट्रवादीको तेजोवध गरेर उनले सञ्चालन गरेको विराट व्यवसाय धरासयी बनाउने खेल खेलिएको हो भन्ने पनि एकाथरी चर्चा सुनिन्छ । सत्य के हो ? तत्काल नभए पनि केही समयपछि पक्कै खुलस्त हुने नै छ भन्ने आशा गरौँ ।(साहित्यकार प्रसाईले आफ्नो फेसबुकमा राख्नुभएको विचार हामीले साभार गरेका हौं । उहाँ त्रिमूर्ति निकेतन तथा नइ प्रकाशनका संस्थापक हुनुहुन्छ)

प्रकाशित : ७ भाद्र २०८०, बिहीबार १७:२६