प्रिमियम मुल्यमा भगवती हाइड्रोपावरको आइपीओ निष्काशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रिमियम मुल्यमा भगवती हाइड्रोपावरको आइपीओ निष्काशन



काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भदौ ५ गते मंगलबारदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि प्रिमियम मुल्यमा आइपीओ निष्काशन गर्न लागेको हो।

८ करोड ५८ लाख ९ हजार ७०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता कुल ११६ रुपैयाँमा ८ लाख ५८ हजार ९७ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। सोमध्ये ८५ हजार ८१० कित्ता सेयर कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि, ४२ हजार ९०५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ भने १७ हजार १६२ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी रहेको ७ लाख १२ हजार २२० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

निष्काशन बन्द छिटोमा भदौ ८ गते हुनेछ भने ढिलोमा भदौ १९ गते हुनेछ। सो आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

रेटिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर ट्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ । केयर नेपालले २०७९ असार ६ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८१ वैशाख २२ गतेसम्म बाहल रहनेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित : ५ भाद्र २०८०, मंगलवार ११:३५