सन् नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सन् नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन खुल्यो



काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्सले साउन ३२ गते बिहीबारदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको छ । इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओमा आवेदन खुलाएको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी तीन अर्ब २० करोड रुपैयाँको बराबरको तीन करोड २० लाख कित्ताको ३० प्रतिशतले हुन आउने ९६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियमसहित कम्पनीले प्रतिकित्ता २३९ रुपैयाँमा आईपीओ निष्कासन गर्न स्वीकृति पाएको हो ।

इन्स्योरेन्सले सोमध्ये ९ लाख ६० हजार कित्ता सेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ । यस्तै कम्पनीले चार लाख ८० हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई र चार लाख ८० हजार कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरेको छ । बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले सर्वसाधारणलाई अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँमा १३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा सेयर निष्कासन खुला गरेको छ । यस्तै कर्मचारीको लागि भने प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा नै सेयर जारी गरेको छ ।

कम्पनीको आईपीओमा लगानीकर्ताले ४ भदौसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिभित्र माग अनुसार आवेदन नपरेमा आवदन दिने म्याद १४ भदौसम्म लम्बिनेछ। इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका लागि कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

प्रकाशित : ३२ श्रावण २०८०, बिहीबार १३:४०