काठमाडौं । किसान बहुउद्देश्यीय सहकारी संस्थाका महाप्रवन्धक एवम सहकारी अभियन्ता डम्बर बहादुर शाह संस्थाहरुलाई बेग्लै रुपमा हेर्नेगरी स्वनियमकारी निकाय आवश्यक भएको बताएका छन् ।
अर्थबजारसँगको कुराकानीमा उनले सहकारी विभाग र राष्ट्र बैंकले नियमन गरिरहेको भए पनि प्रत्यक्ष रुपमा हेर्नेगरी छुट्टै नियमनकारी संस्था आवश्यक रहेको औंल्याए । ‘स्वनियम भनिए पनि माथिबाट हेर्ने दुइवटा निकाय भएपछि समस्या आइरहेको छ । संस्थाहरु दोधारमा छन् । कुन क्षेत्रमा कति लगानी गर्ने भन्नेमै अन्योल छ । यसमा सुधार आवश्यक छ ।’
जति धेरै बढी पुँजी हुँदै गयो उत्ति नै चुनौति थपिएको औंल्याउँदै उनले पाँच अर्ब भन्दा बढी पुँजी भएका सहकारीहरुलाई राष्ट्र बैंकले मात्रै वा विभागले मात्र हेर्नुपर्ने बताए । सहकारी बचतकर्ताहरु सडकमा उत्रिनुपर्ने अवस्था आउनु दुखद भएको भन्दै महाप्रवन्धक शाहले भने,‘यस्तो समस्या देशभर देखिएको छ । तर यसका लागि समन्वय छैन । राज्यको भूमिका प्रभावकारी भएन, जिम्मेवारी लिएन । त्यस्तै सदस्यहरु पनि संस्थाहरुप्रति जानकार र जिम्मेवार देखिएनन् । यसका लागि नीतिगत सुधार हुनुपर्छ ।’
Comment