राष्ट्रिय सहकारी बैंक र सदस्य प्रतिको भुमिका « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्रिय सहकारी बैंक र सदस्य प्रतिको भुमिका



सहकारी क्षेत्रको अभिवाभकत्व निर्वाह गर्दै आएको राष्ट्रिय सहकारी बैंक वित्तीय क्षेत्रमा छुट्टै पहिचान बोकेको बैंक हो । यस बैंकले व्यक्तिसँग नभै सहकारी संघ सस्थाहरुसँग मात्रै कारोबार गर्छ । त्यसैले अन्य बैंक तथा वित्तीय संस्था भन्दा पनि सहकारी बैंक फरक ढाँचाको छ । बैंकले सहकारी संस्थाहरुको वित्तीय कारोबारमा सहजीकरण गरेको छ ।

सदस्य सहकारी संस्थाहरुलाई वित्तीय सहजतासहित सहकारी प्रवद्र्धन र विकाससँगै वित्तय साक्षरता सम्बन्धी विभिन्न तालिमहरु उपलब्ध गराउँदै आएको छ । सदस्य संघ वा संस्थालाई थोक कर्जा मार्फत गरेको लगानीले सहकारी सस्थाका सदस्यहरुको आर्थिक तथा सामाजिक स्तर उकास्नको लागि टेवा पुर्याएको छ । जसले ग्रामीण तथा साना मझौला उद्योगहरुमा लगानी गरी आर्थिक रुपान्तरणमा योगदान पुर्याएको छ ।

सहकारी संस्थाहरुको प्रवद्धर्न, विकास एंव सहकारीहरुको वित्तिय आवश्यकता परिपुर्ति सहकारी बैंकले अग्रणी भुमिका निर्वाह गरेको छ । सहकारी क्षेत्रले करिब पाँच खर्ब बढीको वित्तीय कारोबार गर्दै आएको छ । जसमा ठूलो हिस्सा सहकारी बैंकको पनि रहेको छ । सहकारी बैंकले गरिबी न्यूनीकरणको लागि धेरै ठूलो भुमिका निर्वाह गरेको छ । आर्थिक रुपान्तरणको लागि संबिधानले देखेको लक्ष्य भेटाउनको लागि सहकारी बैंकको अहम भुमिका रहेको छ । सहकारीको माध्यामबाट ग्रामिण र अति पिछडिएका क्षेत्रहरुमा वित्तीय पहुँच पुर्याएको छ भने सानोतिनो व्यवसाय विस्तार गर्नको लागि सहयोगी सिद्ध भएको छ ।

सहकारी बैंकमा मुलुभर रहेका प्रारम्भिक सहकारी संस्थाहरु, विषयगत जिल्ला सहकारी संघहरु, जिल्ला सहकारी संघ, प्रदेश सहकारी संघ, विषयगत प्रदेश सहकारी संघ, विषयगत केन्द्रिय सहकारी संघ र राष्ट्रिय सहकारी महंसघ समेत सदस्य बन्न सक्ने भएको कारणले गर्दा मुलुकभर रहेका सहकारी संघ सस्थालाई एउटै छातामुनी ल्याउन सक्ने एक मात्र संस्थाको रुपमा रहेको छ ।

हाल मुलुकमा करिब २९ हजार प्रारम्भिक सहकारी संस्था रहेका छन् । जस मध्येमा १६ हजार भन्दाबढी सहकारी संघ सस्थाहरु सहकारी बैंकको सदस्यता लिएर वित्तीय कारोबार गर्दै आएका छन् । मुलुकमा रहेको सम्पूर्ण सहकारीलाई एकवद्ध गराउँदै अघि बढ्न बैंकले आफ्ना सम्पूर्ण क्रियाकलापलाई एककृत गर्दै अगाडि बढेको छ । बैंकले बाँकी सहकारी संघ संस्थाहरुलाई सदस्य बन्नको लागि आह्वान गर्दै गुणात्मक सहित संख्यात्मक सञ्जाल बलियो बनाउन पर्ने जरुरी छ । हाल सदस्य सहकारी सस्थाको गुणात्मक विकासको लागि शिक्षा तालिम सहित स्तरिकरण कार्यक्रम समेत सञ्चालनमा रहेको छ ।

पछिल्लो समय सहकारी क्षेत्र अनेकन समस्याबाट जुध्दै छ । जसमा तरलता संकटको समस्या प्रमुख रहेको छ । यो बिषम परिस्थितीमा सदस्य सहकारी संघ सस्थाहरुलाई वित्तीय संकटबाट जोगाउनको लागि बैंक हरबखत क्रियाशील रहेको छ । समस्या न्यूनीकरणका लागि कोष खडा गरेर होस वा सहकारीका सदस्यहरुसँगको साक्षत्कार गरेरै भएपनि समस्याको सामना गर्दै बलियो बनाउने कार्यमा बैंकको सकृय भुमिका छ । यद्यपि, समग्र सहकारी क्षेत्रमा देखिएको संकटले सहकारी बैंक पनि अछुतो छैन् । कतिपए अवस्थामा वित्तीय सन्तुलन ल्याउनको लागि केही हदसम्म स्थिर रहन पर्यो । जसको परिणाम स्वरुप सदस्य सहकारी संघ सस्थाको माग बमोजिमको कर्जा उपभोगमा कमी भएको हो कि भन्ने भान भएको छ ।

सहकारीका सम्पूर्ण संघ संस्थाहरु एकवद्ध हुन नसक्दा सहकारीको पैसा अन्य बैंक तथा वित्तीय संस्थामा पलायन भयो । सहकारीको पैसा सहकारी क्षेत्र भित्र नै राख्न सकेको खण्डमा सहकारी क्षेत्रले यती ठूलो आर्थिक संकटको सामनाबाट जुध्न पर्ने थिएन । सहकारी बैंक सहकारी संघ सस्थाहरुको एक मात्र बैंक हो । सहकारी क्षेत्रमा हुने जति पनि वित्तीय कारोबार सहकारी बैंक मार्फत गर्न सकियो भने सहकारीको पैसा सहकारी क्षेत्रमा नै रहने थियो । जसले गर्दा आर्थिक संकटमा परिस्थितलाई सामान्यकरण गरी सहकारीको लक्ष्य हासिल गर्न सहज हुने थियो ।

सहकारीले आर्थिक सामाजिक विकासमा बहुआयामीक योगदान पुर्याउने कुरालाई कसैले नकार्न सक्दैन । तर सहकारी संघ सस्थाहरुको एकअर्कामा समन्वय विना सहकारीमार्फत हुने आर्थिक रुपान्तरणको परिकल्पना गर्न सकिदैन । सहकारी क्षेत्रले स्थानीय रुपमा उपलब्ध श्रोत तथा साधन समुदायस्तरमा न्यायोचित वितरण गर्ने भएको हुदाँ समुदायमा आर्थिक समावेशिता र सामाजिक न्यायको परिकल्पना गर्नबाट सहकारी बैंक चुक्नु हुँदैन ।

सहकारीको सुशसानको स्थिति कमजोर देखिएको छ । सहकारीमा जोखिम बढ्दै छ । कर्जा तथा लगानी उठ्न सकिरहेको छैन । सहकारी मार्फत ऋणको सदुपयोग भएको छैन भने कर्जासेवा विविधीकरण पनि भएको छैन, जसले कर्जा जोखिम बढाएको छ । तरलता जोखिम पनि बढेको छ । सहकारीहरूले नियमविपरीत घर जग्गा, घडेरीमा लगानी गरेको छन । सहकारीको यस्ता गतिविधिले सहकारी क्षेत्र समस्यामा छ । सहकारी बैंक मध्यस्तकर्ताको भुमिकामा रहेर सहकारीको मूल–मर्मलाई आत्मसाथ गर्दै संघ संस्थाहरुसँगको समन्वयमा सहकारी प्रति आम विश्वास बढाउन पर्नेछ । यस्तो अवस्थामा सहकारी बैंकले आफ्ना सदस्यहरुलाई विश्वासमा लिएर सहकारी क्षेत्रकै दह्रो खम्वाको रुपमा उभिनुपर्ने चुनौती रहेको छ ।

प्रकाशित : १८ श्रावण २०८०, बिहीबार १९:१०