काठमाडौं । सञ्चालकहरुले आफ्नो स्वामित्वमा भएको सेयरलाई पदबाट हटेको १ वर्षसम्म बिक्री गर्न नपाउने नेपाल धितोपत्र बोर्डको पछिल्लो व्यवस्थाप्रति नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री डा. प्रकाशशरण महतको ध्यानाकर्षण गराएको छ।
सिंहदरबारमा अर्थमन्त्री महतलाई आइतबार ध्यानाकर्षणपत्र बुझाउँदै चेम्बरले धितोपत्र बोर्डको पछिल्लो व्यवस्था अव्यवहारिक र व्यवसायीलाई मर्कामा पार्ने खालको रहेको जनाएको हो।
चेम्बरद्वारा अर्थमन्त्री महतलाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘धितोपत्र बोर्डबाट जारी भएको सूचीकृत एवं संगठित संस्थाहरुको संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७५ को दफा १४ को उपदफा ६ मा उल्लेखित “कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको १ वर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर खरिदबिक्री गर्न नपाउने” व्यवस्था व्यवसाय अनुकूल छैन। ’
कुनै पनि व्यवसायीले आफ्नो चल सम्पत्ति बिक्री गर्न नपाउने परिस्थितिमा उद्योग–व्यवसायको विविधीकरण र विस्तारमा समेत असर गर्ने चेम्बरले जनाएको छ ।
चेम्बर अध्यक्ष राजेन्द्र मल्लले धितोपत्र बोर्डको पछिल्लो निर्णयले कतिपय अवस्थामा घरायसी कार्यमा समेत अवरोध आउन सक्ने भएकाले सच्याउनका लागि पहल गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराए। बोर्डको निर्णयले व्यवसायीहरुलाई मर्कामा पार्ने अध्यक्ष मल्लको भनाइ छ।
सञ्चालकले आफ्नो स्वामित्वमा भएको सेयरलाई पदबाट हटेको १ वर्षसम्म पनि बिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी जुनसुकै समय बिक्री गर्न पाउने व्यवस्था गर्न चेम्बरले अग्रह गरेको छ। बोर्डले गरेको व्यवस्था भारतलगायत अन्य कुनै पनि राष्ट्रमा प्रचलनमा नरहेको उनको भनाइ छ।
आफूसँग भएको सेयरको कम्तिमा ५० प्रतिशत हिस्सा बिक्री गर्ने व्यवस्था मिलाउनका लागि पहल गर्न चेम्बरले अर्थमन्त्रीको ध्यानाकर्षणसमेत गराएको छ।
अर्थमन्त्री महतले चेम्बरले गराएको ध्यानाकर्षणप्रति आफू सकारात्मक रहेको बताए।
Comment