नेपालको सार्वजनिक ऋण २१ खर्ब ५४ अर्ब १२ करोड, हरेक नेपालीको थाप्लोमा ७५ हजार ऋणको भारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेपालको सार्वजनिक ऋण २१ खर्ब ५४ अर्ब १२ करोड, हरेक नेपालीको थाप्लोमा ७५ हजार ऋणको भारी



काठमाडौं । नेपालको सार्वजनिक ऋण २१ खर्ब ५४ अर्ब १२ करोड पुगेको छ । देशको कुल जनसख्यासँग तुलना गर्दा प्रतिव्यक्ति ऋण झण्डै ७५ हजारको हाराहारीमा पुग्ने देखिन्छ ।

जनगणना २०७८ अनुसार कुल जनसख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ लाई आधार मान्दा प्रतिव्यक्ति ७५ हजार रुपैंया ऋण पुग्ने आंकलन गरिएको छ ।

जीडीपीमा सार्वजनिक ऋणको अनुपात बढ्दै जानु र न्यून पूँजी निर्माणका कारण आर्थिक वृद्धिदरसमेत कमजोर भइरहँदा त्यसले आगामी दिनमा मुलुकको अर्थतन्त्रलाई जोखिममा पार्नसक्ने देखिन्छ । सामान्यतया वित्तिय संकट टार्न, आयोजना निर्माण लगायतका लागि ऋण लिने गरिन्छ । तर, मुलुकले लिएको ऋणको बढ्दो आकारसंगै यसको सदुपयोग एवं प्रभावकारीताका कारण ऋणको भार बढेको विश्लेषण गरिएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी)को तुलनामा सार्वजनिक ऋणको अनुपात ४२ प्रतिशत हाराहारीमा छ । यसमा आन्तरिक ऋण १० खर्ब ३६ अर्ब रहँदा बाह्य ऋण १० खर्ब ६९ अर्ब रहेको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार गत वर्ष असार मसान्तसम्ममा नेपालको सार्वजनिक ऋण २० खर्ब १३ अर्ब बराबर पुगेको छ । चालु वर्षको अन्त्य सम्ममा यो २२ खर्बको हाराहारीमा पुग्ने अनुमान छ । यसले नेपाल र नेपालीको थाप्लोको ऋण दिनानुदिन बढ्दो अवस्थामै छ ।

तर चालु वर्षको अन्त्य सम्ममा नेपालले लिएको ऋण मध्ये १ सय १७ अर्ब तिर्ने लक्ष्य राखेको छ भने २ सय ५६ अर्ब उठाउने लक्ष्य राखेको छ । यस्तै, आगामाी आर्थिक वर्षमा २ सय ४० अर्ब ऋण उठाउने लक्ष्य राख्दा १ सय ८२ अर्ब ५६ करोड तिर्ने लक्ष्य राखेको छ ।

प्रकाशित : २५ जेष्ठ २०८०, बिहीबार ११:५५