‘हवाई टिकटको भाडा ५ प्रतिशतमात्रै बढ्छ, १३ प्रतिशत बढ्ने कुरा गलत हो’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

‘हवाई टिकटको भाडा ५ प्रतिशतमात्रै बढ्छ, १३ प्रतिशत बढ्ने कुरा गलत हो’



काठमाडौं । आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीले मूल्य अभिवृद्धि कर (भ्याट) लागू हुँदा पनि हवाई टिकटको मूल्य ५ देखि ६ प्रतिशतमात्रै बढ्ने बताएका छन् । आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) र विभागले सोमबार संयुक्त रुपमा आयोजना गरेको ‘परिवर्तित कर नीति : भ्रम र यथार्थ’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै महानिर्देशक मैनालीले यस्तो बताएका हुन् ।

नेपाल सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने वस्तुको सूचीमा हवाई टिकटलाई समेत समावेश गरेको छ । यो सँगै अब हवाई टिकटको मूल्य १३ प्रतिशतले महंगिने चर्चा भएको थियो ।

तर, विभागका महानिर्देशक मैनालीले १३ प्रतिशतले महंगिने भन्ने प्रचार गलत भएको बताए । उनले बढीमा ५ देखि ६ प्रतिशतमात्रै टिकटको मूल्य बढ्ने बताए । उनका अनुसार हवाई टिकटको भाडामा मात्र भ्याट लाग्ने छ । इन्धन र विमानस्थल शुल्कमा अहिले पनि भ्याट जोडिने भएकाले अब भाडामा मात्रै लाग्ने उनले बताए ।

इन्धन चार्ज, विमानस्थल शुल्क, बीमा शुल्क र वायु सेवा कम्पनीले लिने भाडा गरी अहिले यात्रुले हवाई भाडाका रुपमा एकमुष्ट रकम तिरिरहेका हुन्छन् । इन्धन र विमानस्थल शुल्मा अहिले पनि भ्याट तिरिरहेका कारण अतिरिक्त तिर्नु नपर्ने महानिर्देशक मैनालीले बताए ।

आगामी आर्थिक वर्षको बजेटको व्यवस्थासँगै हवाई टिकटमा अब भ्याट जोडिन्छ । यो प्रावधान नयाँ आर्थिक वर्ष २०८०÷८१ अर्थात् १ साउनदेखि लागु हुने छ ।

प्रकाशित : २२ जेष्ठ २०८०, सोमबार १३:५६