क्यानाडामा एउटा ‘गुपचुप नेपाली म्यूजिक अवार्ड’: जसले प्रशस्त आशंका जन्मायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

प्रवास

क्यानाडामा एउटा ‘गुपचुप नेपाली म्यूजिक अवार्ड’: जसले प्रशस्त आशंका जन्मायो



काठमाडौं । क्यानाडाको टोरन्टोमा आयोजना गरिएको एक म्यूजिक भिडियो अवार्ड कार्यक्रमले विभिन्न आशंकाहरु जन्माएको छ । दोस्रो स्टार म्युजिक भिडियो अवार्ड–२०२३’का नाममा आयोजित कार्यक्रमप्रति धेरैले आशंका व्यक्त गरेका छन् ।

नेपालमा दर्ता भएको ‘ग्रेट नटराज फिल्मस् प्रालि’ ले आयोजना गरेको यो अवार्डबारे नेपालमा धेरैलाई थाहा नै छैन । संस्थाको आधिकारिक फेसबुक पेजमा प्रचार सामग्री भेटिदैन । क्यानाडामै रहेका समाजसेवी, व्यवसायी र सर्वसाधारण नेपालीलाई कार्यक्रमबारे पत्तो नपाएको प्रतिक्रिया दिए । नेपालबाट झण्डै तीन दर्जन ‘कलाकार’ ल्याएर कार्यक्रम गर्न खोजिए पनि यसले नेपाली संगीत बजारलाई फैल्याउन सघाउने जस्तो देखिएन।

समयको पालना हुने क्यानाडाको टोरन्टो क्षेत्रस्थित मिसिसागाको पियर्सन कन्भेन्सन सेन्टरको एउटा हलमा जुन माहौल देखिएको थियो, त्यो धेरै कारणले अनौठो थियो। नेपाली म्युजिक भिडियोको अवार्ड वितरण यति टाढा गरिनु नै अनौठो थियो भने व्यवस्थापन चुस्त थिएन। कार्यक्रमका बारेमा कोहीपनि बोल्न तयार थिएनन् । हलमा रहेका सहभागीहरुलाई कार्यक्रमका बारेमा प्रतिक्रिया लिन खोज्दा बोल्न आनाकानी गरिरहेका थिए ।

प्रवेश द्वार, हल र मञ्चमा राखिएका फ्लेक्समा नेपालका चिरपरिचित व्यापारिक कम्पनी तथा संस्थासमेतको नाम देखिए पनि उनीहरु बोल्न नचाहनु अनौठोलाग्दो थियो। चार घण्टाको कार्यक्रमका लागि झण्डै १५ लाख नेपाली रुपैयाँ भाडा तिरेको हल आइतवार अपरान्ह चार बज्दै गर्दा चकमन्न जस्तै थियो। अढाइ सयभन्दा धेरै कुर्सी राखिएको हलमा ५० जना पनि थिएनन्। हलमा धेरैजसो नेपालबाट पुगेका कलाकारहरुको मात्र उपस्थिति देखिएको थियो । धेरै कुर्सीहरु रित्ता थिए ।

नेपाल र क्यानाडाको राष्ट्रिय गान पालैपालो बजाएर सुरु गरिएको कार्यक्रममा उद्घोषक नरेश भट्टराई भन्दैथिए, ‘मुख्य आयोजक उपस्थित हुन नसक्नु भए पनि उहाँप्रति सम्मान व्यक्त गर्दछौं।’ उनले अवार्डको पहिलो संस्करण पोहोर काठमाडौंको फाइभ स्टार होटलमा भएको सुनाए।

‘ग्रेट नटराजका सात एक्टिभ मेम्बरमध्ये एक तथा चेयरम्यान अशोक विक हो तर उहाँ आज उपस्थित हुनुहुन्न’ उद्घोषक भट्टराईले सुनाए, ‘ग्रेट नटराजले यस्ता कार्यक्रम विश्वभर गर्ने सोच राखेको छ, सामाजिक कार्यमा पनि उत्तिकै लाग्ने सोच छ।’ नेपाली गीत, संगीत र फिल्मलाई ‘ग्रेट नटराजले वल्डवाइड’ पुर्याउने भनिरहँदा अवार्ड वितरण गरिने १९ विधाको भिडियोसमेत प्रोजेक्टरमार्फत् देखाउन नसक्नु विरोधाभासपूर्ण थियो।

कसले कुन विधामा के अवार्ड पाउँदैछ भन्ने प्रष्ट्याउन नसक्नु र उनीहरुको काम दृश्यमा नदेखाइनु नै अवार्ड वितरण औचित्यहीन जस्तो देखिएको थियो । कार्यक्रममा नेपालबाट लोकगायिका टीका पुन, कलाकार पल्पसा डङ्गोल, सुधिर श्रेष्ठ, गम्भिर बिष्ट, रोशन श्रेष्ठ, मानसिंह खड्का, मनोज बिक, सुष्मा अधिकारी, स्मृति शाही, सुरेन्द्र बस्याललगायत आएका छन्। अमेरिकाबाट पनि केही कलाकार आएको जानकारी गराइयो।

कार्यक्रमलाई सफल बनाउन क्यानाडामा सहगोग गर्ने श्याम अर्याल, इश्वर थापा, ध्रुव भट्टराई, क्रिजल अधिकारी, रियाज खान, ज्ञान भण्डारीलगायतलाई आयोजकले धन्यवाद दिएका थिए।

त्यहाँ एनआरएनए क्यानाडाका पूर्वअध्यक्ष अनिल थापा, एनआरएनएकै पूर्वमहासचिव किस्मत भण्डारी, नेप्लिज क्यानेडियन नेटवर्क अफ क्यानाडा (एनसीएनसी) का सेक्रेटरी भूमिराज घिमिरे आदिको पनि उपस्थित थियो। आयोजकले ‘कार्यक्रम सफल पार्न सघाउने’ भनेर केही अन्य संस्थाको पनि नाम लिए।

काठमाडौंमा प्रमाणपत्र
उक्त अवार्डका लागि केही महिना अघि काठमाडौंको जमलस्थित एल्लो प्यागोडा होटलमा नोमिनेसन प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको थियो । नेपाली गीत सङ्गीत र संस्कृति संरक्षणको अभियान राष्ट्रिय एकता सहितको हाम्रो पहिचान भन्ने उद्देश्यका साथ प्रमाण पत्र वितरण गरिएको थियो ।

अशोक विकको अध्यक्षता र पूर्व शान्ति तथा पुन निर्माण मन्त्री सत्य पहाडीको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रममार्फत आधुनिक,लोक,पप तथा विभिन्न भाषा भाषी र सांस्कृतिक म्युजिक भिडियोका ३० विधामा हुन गइरहेको अवार्डको फाइनल अवार्ड वितरण कार्यक्रम क्यानाडामा हुने जानकारी गराइएको थियो ।

आयोजककै भिसा लागेन

स्रोतले बताएअनुसार, आयोजक संस्थाका अध्यक्ष अशोक विकसहित चार जनाको भिसा नलागेको पाइएको छ । भिसा नलागे पनि ३५ जना आइसकेको कार्यक्रम सफल पार्न उद्घोषक भट्टराईसहित कलाकार समूहले टोरन्टो क्षेत्रका केही नेपाली संघ संस्थाका प्रतिनिधिलाई भेटेर हार गुहार गरेको थियो।

त्यसपछि एनसीएनसीले कार्यक्रम हुने दिनै अर्थात् आइतवार बिहानमात्र इमेलमार्फत सहभागिताका लागि आह्वान गरेको थियो। टोरन्टो क्षेत्रमा पुरानो नेपाली संस्थाका रुपमा परिचित एनसीएनसीले पठाएको इमेलमा पनि ‘प्राइभेसी’ उल्लंघन भएको गुनासो आइरहेको छ।

‘नेपाली कलाकार क्यानाडासम्म ल्याएर कार्यक्रम गर्नु हाम्रा लागि खुसीको कुरा हो तर धेरै कुरा शंकास्पदै देखिएकाले सहभागि हुन सकिएन’ ब्राम्पटनमा बस्ने एक नेपाली व्यवसायीले भने, ‘क्यानाडामा रहेका कसैलाई पूर्व जानकारी नहुनु, रातारात आएर कार्यक्रम गर्न खोज्नुले राम्रो सन्देश जाँदैन।’अवार्डबारे बुझ्न क्यानाडामा सम्पर्क गर्दा कतैबाट भरपर्दो जानकारी पाइएन ।

केही उतै लुक्ने तयारी !

कार्यक्रममा पुगेका केही नाम चलेका कलाकार नेपाल फर्किने बताइए पनि आधा भन्दा धेरै उतै बस्ने मनसाय रहेको क्यानाडामै रहेका एक समाजसेवीले नाम नखुलाउने शर्तमा जानकारी दिएका छन् । ‘यहाँ सफा नियतले हुने गरिएका कार्यक्रमका बारेमा डेढ महिना अघि देखि नै चर्चा हुन्छ । प्रचार प्रसार गरिन्छ । निम्ता पठाउन थालिन्छ । तर यो अवार्डका बारेमा यहाँ कसैलाई जानकारी नै रहेनछ । यहाँ आएका करिब २० नेपाली कलाकारिता क्षेत्रमै भएजस्तो लाग्दैन,’उनले भने,‘सोझै भन्दा यो मानव तस्करी हुनुसक्छ ।’

अवार्डका बारेमा नेपालमै रहेका धेरेजसो रंग पत्रकारलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् । हुन पनि आयोजकको फेसबुक पेजमा अवार्डबारे स्पष्ट जानकारी छैन । १३ अप्रिलमा अन्तिम पटक अपडेट भएको पेजमा टोरन्टोमा आयोजना हुने अवार्डका बारेमा कुनै सूचना राखिएको छैन ।

अवार्डका नाममा नेपालीलाई विदेश पठाउने लहर चलिरहेका बेला दोस्रो स्टार म्युजिक भिडियो अवार्ड–२०२३ का बारेमा आशंका पैदा भएको छ । अवार्डलाई पछिल्लो समय विदेश जाने अस्त्रको रुपमा प्रयोग हुने, अवार्ड किनबेच हुने साथै अवार्डकै नाममा महँगो टिकट बेचेर आयोजकले कमाउने गरेका छन् । साथै अवार्डकै नाममा मानव तस्करी बढेको समाचारहरु पनि सार्वजनिक भइरहेका छन् । (क्यानाडामा रहेका संचारकर्मी र व्यवसायीको सहयोगमा)

प्रकाशित : १५ जेष्ठ २०८०, सोमबार १२:२८