सिर्सिया नदीको प्रदूषण नियन्त्रण गर्न मन्त्री रिजाल तयार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

सिर्सिया नदीको प्रदूषण नियन्त्रण गर्न मन्त्री रिजाल तयार



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले पर्सा स्थित सिर्सिया नदीको प्रदूषण नियन्त्रणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नदी प्रदुषण मुक्त अभियानका अभियन्ताहरुलाई आइतबार माइतिघर स्थित धर्ना स्थलमा भेट्दै मन्त्री रिजालले आफु प्रदूषण नियन्त्रणको पक्षमा रहेको बताउँदै यसमा सरकारको पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका हुन् । सिर्सिया नदी प्रदूषित हुदा यो विषय स्थानीयको जनजिविकासग समेत जोडिने हुदा यसप्रति आफु गम्भीर रहेको बताउँदै मन्त्री रिजालले यथासक्दो समस्या समाधान गर्ने बताएका हुन् ।

बारा औद्योगिक करिडोरका उद्योगबाट निस्किने फोहोरका कारण सिर्सिया नदी प्रदूषित हुँदै आएको भन्दै चुरे तथा वन जंगल संरक्षण अभियानले आइतबारबाट माइतीघरमा धर्ना दिएको छ । वीरगञ्जबाट पैदल काठमाडौंसम्म आइपुगेका अभियन्ताहरुले मन्त्री रिजाल समक्ष ज्ञापन पत्र समेत बुझाएका छन् । सिर्सिया नदीलाई प्रदूषण मुक्त बनाउन औद्योगिक क्षेत्रबाट निस्कने फोहोर नदीमा खसाउन बन्द गर्नुपर्ने अभियन्ताहरुको मुख्य माग रहेको छ ।

ज्ञापन पत्र मार्फत अभियन्ताहरुले सिर्सिया नदी लगायत देशभरका अन्य नदीलाई प्रदुषणमुक्त र अतिक्रमणबाट बचाउन उच्च स्तरीय नदी संरक्षण बोर्डको स्थापना गर्न माग गरेका छन् । त्यसैगरी बिभिन्न स्थानमा वन क्षेत्रको जग्गाहरु उद्योगले कब्जा गरेको भन्दै त्यसलाई फिर्ता गरी वन क्षेत्रलाई हस्तान्तरण गर्न समेत ज्ञापन पत्र मार्फत माग गरिएको छ ।

प्रकाशित : १४ जेष्ठ २०८०, आईतवार १७:३५