वाणिज्य बैंकहरुले ९ महिनामा सरकारलाई बुझाए २० अर्ब आयकर, कुन बैंकले कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

वाणिज्य बैंकहरुले ९ महिनामा सरकारलाई बुझाए २० अर्ब आयकर, कुन बैंकले कति ?



काठमाडौं । वाणिज्य बैंकहरुले सरकारलाई करिब २० अर्ब रुपैयाँ आय कर बुझाएका छन् । सञ्चालनमा रहेका २१ वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०७९।०८० को ९ महिनामा गरेको आम्दानीवापत सरकारलाई १९ अर्ब ९९ करोड ७५ लाख रुपैयाँ तिरेका हुन् ।

जुन गत आवको तुलनामा ४.७६ प्रतिशतले बढी हो । गत आवको चैत मसान्तसम्म वाणिज्य बैंकहरुले १९ अर्ब ८ करोड ९२ लाख रुपैयाँ सरकारलाई आयकर वापत बुझाएका थिए ।

वाणिज्य बैंकहरुले नौ महिनामा कुल ४८ अर्ब ७० करोड ४९ लाख ७१ हजार रुपैयाँ नाफा कमाएका छन् । सोही नाफाबाट ‘आयकर ऐन २०५८’ अनुसार ३० प्रतिशत सरकारलाई तेस्रो त्रैमासमा १९ अर्ब ८ करोड ९२ लाख रुपैयाँ आयकर तिरेका हुन्।

नाफा रकम विभिन्न खर्च र कर छुट्याएपछि आउने नाफा मात्र बैंकहरुको खुद नाफा हो। जुन नाफाबाट बैंकहरुले लगानीकर्ताहरुलाई लाभांश दिन सक्छन्।

बैंक तथा वित्तीय संस्थाहरुले आम्दानीको ३० प्रतिशत कर तिर्नुपर्ने हुन्छ। बैंकहरुले कर पछिको नाफामा १० प्रतिशत कर्मचारी बोनस छुट्याएपछि आउनेमा ३० प्रतिशत आय कर सरकारलाई बुझाउनु पर्ने प्रवाधान गरिएको छ ।

नेपालमा कुनै पनि संस्थाको वार्षिक आयकर १० हजार रुपैयाँभन्दा बढी भएमा वार्षिक अनुमानित आम्दानीको ४० प्रतिशत पुस मसान्तमा र ३० प्रतिशत थप गरी ७० प्रतिशत चैत मसान्तमा र असार मसान्तमा सत प्रतिशत बुझाउनुपर्छ ।

अनुमानित आम्दानीबाट बुझाइएको आयकर वास्तविक आम्दानीभन्दा कम हुन गएमा सरकारलाई १५ प्रतिशत ब्याज थप गरी अपुग कर बुझाउनु पर्ने हुन्छ । तर, अनुमानित आम्दानीभन्दा वास्तविक आम्दानी कम भएर बुझाइएको कर बढी हुन गएमा अर्को वर्षका लागि हिसाब मिलन गरिने सरकारी प्रवाधान छ ।

यसरी अनुमानित आम्दानीबाट चैत मसान्तसम्म सबैभन्दा बढी आयकर नबिल बैंकले बुझाएको छ भने सबैभन्दा थोरै कृषि विकास बैंकले बुझाएको छ ।

नबिल बैंकले चैत मसान्तसम्म सरकारलाई २ अर्ब १९ करोड २७ लाख रुपैयाँ आयकर बुझाएको छ । भने कृषि विकास बैंकले ४१ करोड ५४ लाख रुपैयाँ बुझाएको छ ।

सो अवधिमा ९ वटा वाणिज्य बैंकले १ अर्ब रुपैयाँभन्दा बढी, ९ वटा बैंकले ५० करोडदेखि १ अर्ब रुपैयाँसम्म र ३ वटा बैंकले ५० करोड रुपैयाँभन्दा कम आयकर सरकारलाई चैत मसान्तसम्म बुझाएका छन् ।

एक अर्ब रुपैयाँभन्दा बढी आयकर बुझाउनेमा नबिल बैंक २ अर्ब १९ करोड २७ लाख, ग्लोबल आइएमई बैंक १ अर्ब ७० करोड १६ लाख, राष्ट्रिय वाणिज्य बैंक १ अर्ब ५३ करोड २९ लाख रुपैयाँ, एनआइसी एशिया बैंक १ अर्ब ७२ करोड ६ लाख रुपैयाँ, प्राइम बैंक १ अर्ब ५ करोड ६३ लाख रुपैयाँ, एभरेष्ट बैंकको १ अर्ब ५ करोड ६८ लाख रुपैंया, स्टया्ण्डर चार्टड बैंक १ अर्ब ११ करोड ८६ लाख, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक १ अर्ब ३० करोड ५४ लाख र एनएमबी बैंक १ अर्ब १३ करोड २६ लाख रुपैयाँ आयकर सरकारलाई बुझाएका हुन् ।

चालु आवको चैत मसान्तसम्म कुन बैंकले कति आय कर बुझाए ?

प्रकाशित : २६ बैशाख २०८०, मंगलवार १२:००