काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको चालू आर्थिक वर्षको ९ महिनामा ३० अर्ब रुपैयाँ भन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले चालू आवको साउनदेखि चैत्र मसान्तसम्ममा २१ लाख ६६ हजार ३२८ बीमालेख बिक्री गरी ३० अर्ब एक करोड ४८ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार गत चैत्र महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले २ लाख ८९ हजार ८८३ वटा बीमालेख बिक्री गरी ४ अर्ब १४ करोड १५ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।
यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुमध्ये सबै भन्दा धेरै बीमाशुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स देखिएको छ । चैत्र मसान्तसम्म यस कम्पनीले चार अर्ब १५ करोड ४८ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । यो शुल्क दुई लाख ३ हजार ३०१ बीमालेख बिक्री गरेर आएको हो ।
त्यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड ९सलिको० रहेको छ । यस कम्पनीले २ लाख ६५ हजार ५५८ बीमालेख बिक्री गरेर ३ अर्ब ४८ करोड १३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
यस्तै, सबैभन्दा बढी बीमाशुल्क संकलन गर्नेको तेस्रो स्थानमा रहेको सिद्धार्थ इन्स्योरेन्स कम्पनीले तीन अर्ब ३५ करोड २५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यस अवधिमा नेको इन्स्यारेन्सले दुई अर्ब २६ करोड ३१ लख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले दुई अर्ब २९ करोड ४९ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ ।
बीमा प्राधिकरणका अनुसार चालु आवको चैत्र महिनासम्म राष्ट्रिय बीमा कम्पनीले एक अर्ब ९९ करोड ५२ लाख रुपैयाँ, एनएलजी इन्स्यारेन्स कम्पनीले एक अर्ब ८१ करोड १२ लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्यारेन्स कम्पनीले एक अर्ब ६५ करोड ४६ लाख रुपैयाँ र अजोड इन्स्यारेन्स कम्पनीले एक अर्ब ४४ करोड ३२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
त्यस्तै यस अवधिमा सबै भन्दा कम बीमा शुल्क आर्जन गर्नेमा नेशनल इन्स्योरेन्स कम्पनी देखिएको छ । यस कम्पनीले चैत्र मसान्तसम्म ७६ करोड ३२ लाख बीमा शुल्क संकलन गरेको छ । यसका साथै युनाइटेड इन्स्योरेन्सले ९५ करोड ३२ लाख बीमाशुल्क संकलन गरेको छ । यस्तै, पु्रडेन्सियल इन्स्योरेन्सले एक अर्ब ४ करोड ५१ लाख रुपैयाँ र दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीले एक अर्ब ७ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
त्यसैगरी, आईएमई जनरल इन्स्योरेन्सले एक अर्ब ४२ करोड २२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने प्रभु इन्स्योरेन्स कम्पनीले एक अर्ब १५ करोड ४९ लाख रुपैयाँ, नेपाल इन्स्यारेन्स कम्पनीले एक अर्ब १५ करोड १० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
Comment