ऋण लिने तर तिर्दिन भन्नेहरूलाई छोड्न हुँदैन, ब्याजदर घट्छ : प्रधानमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

ऋण लिने तर तिर्दिन भन्नेहरूलाई छोड्न हुँदैन, ब्याजदर घट्छ : प्रधानमन्त्री



काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकबाट ऋण लिने तर तिर्दिन भन्नेहरूलाई छोड्न नहुने बताएका छन् । सोमबार दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्रीले त्यस्तो अराजक प्रवृत्तिलाई छुट दिन नसकिने बताएका हुन् ।

“अनुगमनलाई मात्रै कडाइ गर्दा पनि अर्थतन्त्रमा सुधार आउँछ, त्यता जोड दिँदै छौँ। घरजग्गा कारोबारमा सहजीकरण नगरीकन तरलताको समस्या सम्बोधन गर्न सक्दैनौँ। त्यस कारण यसमा पनि हामी छिटै निष्कर्षमा पुग्छौँ” प्रधानमन्त्रीले भने।

“बैंकको ऋण लिने तर तिर्दिनँ भन्नेहरूलाई छोड्नु हुँदैन। त्यस्तो अराजक प्रवृत्तिलाई छुट दिन सकिँदैन” प्रधानमन्त्रीले भन्नुभयो, “हुल हुज्जतको सहज सकिँदैन, त्यसमा सरकार कठोर हुन्छ।”

छलफलमा विभिन्न बैंकका कार्यकारी अधिकृत लगायत बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूले बैंक र कर्मचारीहरूको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने र व्यवसायी एवं आम नागरिकको चासो सम्बोधनका लागि सरकारको आग्रहअनुरूप आफूहरू अगाडि बढ्ने बताएका थिए ।

बैठकमा प्रधानमन्त्रीका साथै अर्थमन्त्री डा. प्रकाश शरण महत, नेपाल सरकारका मुख्यसचिव सङ्कर दास वैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, गृह सचिव विनोदप्रकाश सिंह, अर्थ सचिव तोयम राय लगायतका पदाधिकारीहरू उपस्थित थिए ।

प्रकाशित : २७ चैत्र २०७९, सोमबार २०:५४