अहिलेको झण्झटिलो कानूनी प्रावधानले गर्दा वैदेशिक लगानी भित्र्याउन धेरै कठिन छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कुराकानी

अहिलेको झण्झटिलो कानूनी प्रावधानले गर्दा वैदेशिक लगानी भित्र्याउन धेरै कठिन छ



काठमाडौं । सरकारले देशमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनका लागि पहल गरेपनि सोही अनुरुप व्यवहारमा कार्यान्वयमा आउन सकेको छैन भने नेपाली लगानीकर्ता पनि अहिले थप लगानीका लागि तयार भएको देखिदैन । कोरोना पछि आएको आर्थिक मन्दीका कारण संचालनमा रहेका कतिपय उद्योग कलकारखाना बन्द भएका छन् भने प्रायःजसो न्यून क्षमतमा चलेका छन् । उद्योगी व्यवसायीहरुमा अहिलेको देखिएको समस्या र तीनको समाधान तथा देशमा कसरी वैदेशिक लगानी भित्र्याउन सकिन्छ भन्ने विषयमा नेपालमा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य, द्विराष्ट्रि तथा एनआरएन फाेरमका सभापति तथा महासंघको आसन्न निर्वाचनमा एसोसिएट्सफर्तबाट केन्द्रिय कार्यकारिणी सदस्य पदका उम्मेदवार, युवा उद्यमी देशबन्धु वस्नेत (अजित)सँग गरिएको कुराकानीको सार :

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एसोसिएट्सतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी पेश गर्नुभएको छ। यसअघि पनि सोही भूमिकामा हुनुहुन्थ्यो अहिले फेरि उम्मेदवारी किन ?

महासंघमा मेरो एक कार्यकाल पुरा हुन लाग्यो । महासंघको ३ वर्षीय कार्यकाल भएपनि कोभिड महामारीका कारण ढिला निर्वाचन हुदा सामान्यभन्दा कम समयमात्र काम गर्न पायौं । यद्यपि छोटो समयमा पनि नेतृत्वले मलाई दिएको जिम्मेवारी पुरा गरेको छु । महासंघमा केन्द्रिय सदस्यको रुपमा पहिलो कार्यकाल भएकाले पनि कतिपय विषयहरुमा सिक्ने मौका पनि पाए । अबका दिनमा त्यसलाई निरन्तरता दिँदै युवाको प्रतिनिधित्व गर्दै नयाँ आयाम थप्नका लागि पुनः सदस्य पदमा उम्मेदारी दिएको छु ।

अहिले तपाईं महासंघको द्विराष्ट्रय तथा एनआरएन फोरमको सभापतिको भूमिकामा पनि हुनुहुन्छ । यसबीचमा तपाईको कार्यकाललाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

महासंघमा यो फोरम पहिला पनि थियो तर, चलायमान थिएन । नयाँ नेतृत्व चयनसँगै महासंघका आदरणीय अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मलाई विश्वास गरेर उक्त फोरमको सभापतिको जिम्मेवारी दिनुभयो । यो समिति विगत २.३ कार्यकालदेखि चलायमान हुन सकिरहेको थिएन । द्धिराष्ट्रिय र एनआरएन भन्ने वित्तिकै यसले दोहोरो भूमिकामा काम गर्दछ । द्धिराष्ट्रियले नेपालसँग दौत्य सम्बन्ध भएका मुलुकहरुको नेपालमा रहेको प्रतिनिधि वा वाणिज्यदूतहरुसँग सहकार्य गरेर विदेशी लगानीलाई नेपालमा भित्र्याउन पहल गर्दछ भने एनआरएनले नेपाल बाहिर रहनुभएका नेपाली उद्योगी व्यवसायीसँग सहकार्य गरेर सम्बन्धित देशबाट नेपालमा वैदेशिक लगानी भित्र्याउन सहजीकरणको काम गर्नेछ । तसर्थ, दुबैपक्षसँग सहकार्य गरेर नेपालमा कसरी लगानी भित्र्याउने वा विदेशी लगानीकर्तालाई नेपालमा कसरी आकर्षित गर्ने भनेरनै यो समितिको गठन गरिएको थियो । यहि समितिमार्फत मैले एसिया कोअपरेसन डायलग (एसिडी) का साथै टर्कीमा रहेको अन्तरराष्ट्रिय सम्मेलनमा महासंघको तर्फबाट सहभागिता जनाएको थिए । नेपालका रहेका विभिन्न देशका राजदूतहरुलाई महासंघमा बोलाएर सम्बन्धित देशको प्रविधि र लगानीलाई नेपालमा कसरी भित्र्याउन सकिन्छ भनेर विभिन्न चरणमा गोष्टी तथा छलफलसमेत गराए । मेरो कार्यकालमा दुईपक्षीय सम्बन्ध विस्तार गरी नेपालमा लगानी भित्र्याउन जाम्बिया, इथोपिया, मौरिसस, रुवाण्डालगायत आधादर्जन मुलुकसँग समझदारी पत्रमा हस्ताक्षर गर्नका लागि अन्तिम चरणमा पुगेको थियो । तर, महासंघ अध्यक्षज्यूले नै सम्बधित मुलुकमै गएर उक्त समझादारी पत्रमा हस्ताक्षर गर्नुपर्छ भनेकाले अहिलेलाई रोकिएर बसेको छ । मलाई विश्वास छ अब महासंघको नयाँ नेतृत्व सम्हाल्न लाग्नुभएका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको कार्यलमा समझदारी पत्रमा हस्ताक्षर हुनेछ । जसका लागि मैले महासंघको तर्फबाट थुप्रै छलफल तथा सोहीअनुरुप पहल गरेको छु ।

तपाईले नेतृत्व दिनुभएको समिति प्रत्यक्ष रुपमा वैदेशिक लगानीकर्तासंग पनि जोडिन्छ । विदेशी लगानी भित्रयाउनेतर्फ तपाईको पहल कस्तो रह्यो र लगानीकर्ताले नेपाली निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण कस्तो पाउनुभयो ?

नेपालमा वैदेशिक लगानी एकदमै अपरिहार्य भएको छ । देशका लागि ठूला पूर्वाधारको आवश्यकता भैसकेको छ तर, नेपालीले मात्रै उक्त पूर्वाधार बनाउन सक्ने क्षमता छैन । तर त्यसो भन्दै गर्दा देशको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान भने नभएको हैन । पछिल्लो तथ्यांकअनुसार पनि निजी क्षेत्रले देशको अर्थतन्त्रमा ८० प्रतिशतभन्दा बढी योगदान दिँदै आएको छ । नेपाली निजी क्षेत्रले जुन काम गर्दै आएको त्यसबाट द्रूत गतिमा विकासको फड्को मार्नका लागि पनि विदेशी लगानीलाई स्वागत गर्नुपर्ने आवश्यकता टड्कारो देखिएको छ । तर, हामीले मुखले मात्रै वैदेशिक लगानी भनेर आउनेवाला छैन । विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न किन आउने त्यसको उत्तर हामीले दिन सक्नुपर्छ । लगानीले जहिले पनि प्रतिफल खोज्छ । जसरी ओरालोमा आफैले बाटो खोज्दै पानी बग्छ त्यसैगरी लगानीकर्ता पनि जता बढी नाफा देख्छ, जता लगानी गर्न सहज छ त्यतै जान्छ । हामी कहाँ जुन खालको अस्थिरता छ, जुन खालको झण्झटिला नीति नियम छन् त्यसले गर्दा वैदेशिक लगानी भित्र्ने सम्भावना ज्यादै न्यून रहेको छ । जवसम्म देशमा स्थिर सरकार, नीतिगत स्थायित्व हुँदैन तवसम्म विदेशी लगानी आउने कल्पना पनि नगर्दा हुन्छ । विदेशी लगानीमा तत्काल एकद्वार नीति कार्यान्वयनमा ल्याउन आवश्यक छ । हामीले राजनीति क्रान्तिका लागि २००७ साल यता धेरै आन्दोलनहरु गर्यौं । तर, आर्थिक परिवर्तनका लागि अहिलेसम्मे कसैले पनि पहल गरेको पाईएन । के हाम्रो आन्दोलन सत्ता प्राप्तिका लागि मात्रै थियो भन्ने प्रश्न हामीमाझ उब्जिएको छ । देश आर्थिक रुपमा समस्यामा परिहेको अवस्थामा एक महिनामै २ पटक अर्थमन्त्री परिवर्तन भैसके भने कुनवेला राजनीतिक समीकरण टुटने हुने हो कुनै पत्तो छैन । नेपालमा एनसेल, डावर नेपाल, सूर्य नेपालजस्ता ठूला वैदेशिक लगानी भित्रिएका छन् । तर, सरकारले तिनको के अवस्था छ, नेपालको विदेशी लगानी सम्बन्धी नीतिसँग सन्तुष्ट छन् कि छैनन् त्यस विषयमा कुनै चासो दिएको देखिँदैन भने कतिपय वैदेशिक लगानी नेपालबाट फिर्ता हुने अवस्थामा छ । अर्कोतर्फ वैदेशिक लगानी भित्र्याउनका लागि कन्ट्री रेटिङ हुनु जरुरी छ । यस्तै हामीले वैदेशिक लगानी भित्र्याउन स्वदेशी लगानीलाई प्रोत्साह गर्नु जरुरी छ । स्वदेशी लगानी स्वतस्फूर्त आएको अवस्थामा वैदेशिक लगानी सहजरुपमा भित्र्याउन सकिन्छ ।

उद्योगी व्यवसायी अहिले उच्च ब्याजदर, तरलता अभाव, कर्जाको चापजस्ता समस्याबाट पीडित देखिन्छन । यस्ता समस्या समाधानका लागि महासंघको केन्द्रिय सदस्यका रुपमा अबको तपाईंको पहल कस्तो हुनेछ ?

महासंघका विभिन्न ४ समूहबाट प्रतिनिधित्व रहन्छ । त्यसमध्ये मैले एसोसिएट्स समुहबाट प्रतिनिधित्व गरिरहेको छु । विभिन्न क्षेत्रका कर्पोरेट हाउसहरुले एसोसिएट्स प्रतिनिधिको रुपमा प्रवेश गरेका हुन्छन् र जसको योगदान राजस्व संकलन होस वा रोजगारी सिर्जनामा ठूलो भूमिका रहन्छ । मेरो अनुभवको आधारमा कुरा गर्ने हो भने भने लामो समयपछि हामी उद्योगी व्यवसायी ठूलो मारमा परेका छौं । हामीले १ दशकयता तरलता अभावको समस्या भोग्दै आएका थियौं । त्यतिवेला क्षणिक हुन्थ्यो तर, अहिले आएर लामो समयसम्म हूँदा बढी पीडा भएको छ ।

अर्कोतर्फ सरकारी नीति नियमको अस्थिरताले गर्दा पनि अहिले समस्या सिर्जना गरेको छ । हरेक त्रैमासमा परिवर्तन हुने राष्ट्र बैंकको नीति, फिलतो नियमनजस्ता विषयले गर्दा व्यवसायी मारमा परेका छन् । एकातर्फ ७ प्रतिशतमा लिएको कर्जा ब्याजदर बढेर १६।१७ प्रतिशतसम्म पुगेको छ भने अर्कोतर्फ बजारमा वस्तुको माग नहुँदा उत्पादन हुन सकिरहेको छैन । राष्ट्र बैंकले बैंकहरुको तजविजी अधिकारमा आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम जोड्न पाउने व्यवस्था गरिदिएको छ । यसले पनि ठूलो समस्या निम्त्याएको छ । सरकारले बोलीमा निजी क्षेत्रलाई अर्थतन्त्रको संबाहक भन्दै आएको छ तर देशको अर्थतन्त्रमा ८० प्रतिशतभन्दा बढी योगदान दिने तिनै निजी क्षेत्रको समस्या सुनुवाईसमेत नगरिरहेको अवस्था छ । यसमा हामी उद्योगी व्यवसायीहरु सडक आन्दोलनमै उत्रनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भयो । जुन एकदकै लजास्पद र दुखदायी कुरा हो ।

पछिल्लो समय महासंघले निजी क्षेत्रको एजेन्डाको बलियो प्रतिनिधित्व गर्न सकेन भन्ने आरोप अथवा गुनासो दुवै छ । यो अवस्थामा महासंघको भूमिकालाई प्रभावकारी बनाउन यहाँको पहल के हुन्छ ?

पक्कैपनि महासंघ सरकारपछि सबैभन्दा ठूलो संजाल भएको संस्था हो । महासंघले व्यवसायीको समस्यालाई सरकार समक्ष राखेर समस्या समाधान गर्न अग्रसरता देखाउनु पर्छ । उद्योगी व्यवसायीको समस्या पहिचान गर्न सक्नुपर्दछ । तर, आजको दिनमा महासंघका सम्बन्धित क्षेत्रका विज्ञहरुको ठूलो अभाव छ । हामी चुनावमा जहिले पनि सचिवालय सुधारका एजेण्डा उठाउँछौं तर चुनाव जितेर गएपछि आफ्नो कार्यकाल सकिएर निस्किदा त्यस्ता विषयमा कुनै छलफल भएको पाईदैन । यो दुर्भाग्य हो । महासंघले विज्ञ टोली नै गठन गरेर सरकारलाई व्यवसायीको हकहितका साथै देशको अर्थतन्त्र निर्माणका सम्बन्धमा दीर्घकालीन योजना दिन सक्नुपर्दथ्यो । तरलताकै कुरा गर्दा एक दशकदेखि निरन्तरमा रुपमा दोहोरिरहेको छ तर, यसमा समाधान खै त । नेतृत्वमा पुगेको एक दुई जना व्यक्तिले मात्र नभई विज्ञ टोलीमार्फत खाका बनाएर समस्या समाधानका निमित्त लाग्नुपर्ने जरुरी छ । अहिले कतिपय उद्योगी व्यवसायी साथीहरुले महासंघको पुरानो साख खस्किएको हो कि भन्ने गुनासो पनि गर्न थाल्नुभएको छ । कुनै समय थियो महासंघले बोल्यो भनेपछि सरकार एककदम पछि हट्थ्यो तर, अहिले सिंहदरबार र राष्ट्र बैंकको गेटमै पुगेर नारा जुलुस गर्दा पनि सुनुवाई नभइरहेको अवस्था छ । यस विषयमा गहन छलफल हुनु जरुरी छ ।

अहिले दिनदिनै जस्तो चुनावी समिकरण बदलिरहेको छ । यसले महासङ्घलाई भविस्या एकीकृत भएर काम गर्न अप्ठ्यारो पर्ने त हैन ?

महासंघमा मैले पहिलो कार्यकाल पुरा गरेर दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएको छु । प्रजातान्त्रिक पद्दतिमा चुनावी प्रतिस्पर्धा हुनु नराम्रो होइन । तर अहिले जुनको खालको राजनीतिक आवद्धता तथा हस्तक्षेप हुन थाल्यो यो एकदमै गम्भीर विषय हो । महासंघ वा महासंघ नेतृत्व कुनै पार्टी विशेषको आस्था वा उनीहरुको निर्देशनमा संचालित हुनुहुँदैन । महासंघ नेतृत्वले उद्योगी व्यवसायीको समस्या समाधान गर्न व्यवसायीको एजेण्डा बोक्ने हो राजनीतिक एजेण्डा होइन । हामी आफ्नो धरातलमा उभिएर स्वच्छ प्रतिस्पर्धामार्फत महासंघको नेतृत्वमा जानुपर्छ । अहिले चुनाव जित्नकै जुन खालको राजनीतिक हतकण्डा अपनाइएको छ, के त्यसरी नेतृत्वमा पुगेको व्यक्तिले व्यवसायिक हकहितमा काम गर्न सक्छ ? यो समग्र उद्योगी व्यवसायीले सोच्ने विषय बनेको छ । महासंघको नेतृत्वमा जाने व्यक्ति व्यवसायीको एजेण्डामा केन्द्रित हुनुपर्छ राजनीतिक रुपमा धु्रबीकरण हुनु हुँदैन । तसर्थ महासंघमा वास्तविक रुपमा व्यवसायीको समस्या बुझेर सरकारसँग वार्ताको टेवुलमा वसेर समाधान गर्न सक्ने नेतृत्वको आवश्यकता छ ।

अहिलेको अवस्थमा पुनः महासंघको नेतृत्वमा जान लाग्नुभएको छ । के–कस्ता एजेण्डा अघि सार्नुभएको छ ?

महासंघमा कुनै एउटा व्यक्तिले चाहेर केही पनि गर्न सक्दैन । कुनै पनि कुरालाई सामुहिक रुपमा अघि बढाउन सक्नुपर्छ । अहिले बैंक ब्याज घटाउने, लगानीयोग्य पुँजी जुटाएर लगानीको वातावरण निर्माण गर्नु, साना तथा मझौला उद्योगको संरक्षण तथा त्यस्ता व्यवसाय विस्तारका लागि सहजीकरण गर्ने तथा देशलाई भित्र कसरी औद्योगिकरण गर्ने भन्ने विषयमा महासंघको माध्यमबाट नीति निर्माण तहमा लबिङ गर्ने छु । अहिले महासंघको द्विराष्ट्रिय तथा एनआएर समितिको सभापति भैरहँदा महासंघको इतिहासमै सबै द्विराष्ट्रिय संघका वाणिज्य दूतहरुलाई महासंघमा बोलाए छलफल गराए । अहिले महासंघमा एसोसिएट्स सदस्य भनेको भोट बैंकको रुपमा मात्र प्रयोग हुँदै आएको छ । चुनाव आउनु एक महिना अघि प्रोक्सी संकलन हुन्छ अनि अर्को चुनाव नआई कसैले सम्झिएको अवस्था छैन । महासंघको एसोसिएट्स मतदाताहरु को–को हुनुहुन्छ सबैलाई प्रत्यक्ष रुपमा भेट्ने अवसर कसैले पनि पाएको छैन । तर, महासंघलाई नयाँ उचाईमा पुर्याउनका लागि एसोसिएट्स सदस्हरुको ठूलो भूमिका रहन्छ । तसर्थ म दोस्रो कार्यकालका लागि निर्वाचित भएर गएको अवस्थामा सबै एसोसिएट्स सदस्यहरुलाई महासंघमा बोलाएर होस वा विषयविज्ञसँग छलफल गरेर उहाँहरुको समस्याको पहिचान गरी समाधानका लागि सरकारसँग पहल गर्नेछु । महासंघभित्र जिल्ला नगर र वस्तुगतका साथीहरु चेम्बर नै बनाएर समस्यामा विषयमा छलफल गरिरहेका हुन्छ भने द्विराष्ट्रियको सम्बन्धमा मैले नै धेरै बैंठकहरु राखे । तर, एसोसिएट्को साथीहरुको समस्याको विषयमा कुनै दिनपनि एजेण्डमा प्रवेश भएर छलफल भएन । अब मेरो मुख्य प्राथमिकता नै एसोसिएट्स सदस्यहरुलाई महासंघमा बढीभन्दा बढी सहभागी गराउने हुनेछ ।

प्रकाशित : २६ चैत्र २०७९, आईतवार १५:४३