अर्थतन्त्र संकटमा पर्दा सहकारीको आवश्यक्ता पर्छ : केपी ओली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

सहकारी

अर्थतन्त्र संकटमा पर्दा सहकारीको आवश्यक्ता पर्छ : केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अर्थतन्त्र संकटमा पर्दा सहकारीको आवश्यक्ता पर्ने बताएका छन् । पछिल्लो समय केही खराब व्यक्तिले सहकारीलाई बदनाम गरेपनि आन्दोलनलाई प्रभावकारी बनाउनुपर्ने औंल्याए ।

काठमाडौंमा जारी तीन दिने तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको समापन समारोहलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले सदस्यहरुको विश्वास बढे सहकारी अघि बढ्ने भएकाले प्रतिफल प्राप्त गर्नेगरी काम गर्न सुझाव दिए ।

उनले भने,‘सहकारीले अर्थतन्त्र धानेको छ । आर्थिक संकट पर्दा, उद्योगी व्यापारी र व्यवसाय धरासायी हुँदा सहकारी आवश्यक पर्छ । यसलाई संरक्षण गर्न सरकारले ध्यान दिनुपर्छ । त्यसैले सहकारी आन्दोलनमा साथ दिन एमाले तयार छ ।’

अध्यक्ष ओलीले कृषिको आधुनिकीकरण र व्यवसायीकरणलाई ध्यान दिंदै यस क्षेत्रमा सहकारीको अवधारणा अघि सार्न आब्हान गरे । सानो पुँजीले सहकारीफार्मत ठूलो प्रतिफल हासिल गर्न सकिने भएकाले सहकारीमार्फत सहकार्य गर्न अनुरोध गरे ।

तीन दिने महासम्मेलन ११ बुँदे घोषणा पत्र जारी गर्दै शनिबार समापन भएको छ । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी महासम्मेन शनिबार सकिएको हो । महासम्मेलनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञहरुले विषयगत कार्यपत्र प्रस्तुत गरेका थिए । महासम्मेलनमा ७० जिल्लाका करिब १ हजार जनाको सहभागीता थियो ।

प्रकाशित : २५ चैत्र २०७९, शनिबार १६:१३