सहकारी नेतृत्वमा सोच परिवर्तन, जनशक्ति व्यवस्थापन र प्रविधिको उपयोग जरुरी भइसक्यो: बैंकर्स शाह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

सहकारी

सहकारी नेतृत्वमा सोच परिवर्तन, जनशक्ति व्यवस्थापन र प्रविधिको उपयोग जरुरी भइसक्यो: बैंकर्स शाह



काठमाडौं । बैंकर्स अनिल केशरी शाहले सहकारी संस्थाहरुको नेतृत्वकर्ताले सोच परिवर्तन, जनशक्ति व्यवस्थापन र प्रविधिलाई आत्मसाथ गर्न सुझाव दिएका छन् । जनशक्ति संस्थाको मुटु भएकाले त्यसमा लगानी गर्न र परिवर्तनका लागि नेटवर्क विस्तारमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

काठमाडौंमा शुरु भएको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको तेस्रो दिन शनिबार ‘विश्वमा बदलिंदो कार्य वातावरणः संस्थागत सफलताको आधार’ विषयगत छलफला कार्यपत्र प्रस्तुत गर्दै शाहले भने,‘जनशक्ति भनेको संस्थाको मुटु हो । जति नै राम्रो दृष्टि भएपनि जनशक्ति भएन भने सफल हुन सकिदैन । साथै सोच, काम गर्ने अवस्था, वातावरण परिर्वतन पनि जरुरी छ ।’

उनले गरिब नेपालीलाई धनी बनाउन वित्तिय सेवालाई प्रभावकारी बनाउनुपर्ने भएकाले संस्थाका नेतृत्वकर्ताले भोलि के हुन्छ भनेर आज नै सोच्नुपर्ने धारणा राखे । शाहले सहकारीमा प्रविधिको अधिकतम सदुपयोग गर्नुपर्ने र नेतृत्वले स्मार्ट सहकारीको अवधारणा अघि सार्नुपर्ने बताए । ‘हामी परिवर्तनबाट डराउनुपर्दैन । दृष्टिकोण, सिप र दक्ष जनशक्ति उत्पादन गरेर सिक्ने सिकाउनेक्रमलाई निरन्तरता दिनसक्नुपर्छ,’ उनले भने,‘मेरो विनम्र अनुरोध छ संस्थालाई लैङ्गिक समानतालाई प्राथमिकता दिनुहोस । महिलालाई प्राथमिकता दिनुहोस ।’

शाहले आजको संसारलाई अवसरका रुपमा सदुपयोग गर्दै सहकारीहरुमा पनि यो अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष केबी उप्रेतीले सहकारीकर्मीहरुमा एकताको भावना विकास गर्दै उत्कृष्ट सेवा र दक्ष जनशक्ति अनिवार्य गरिनुपर्ने औंल्याए । उनले सहकारीको जस्तो संजाल अन्य निकायमा नभएकाले सकरात्मक दृष्टिकोणा साथ काम गर्न आब्हान गरे ।

राष्ट्रिय सहकारी महासंघका सल्लाहकार विष्णु रिमालको अध्यक्षतामा भएको कार्यक्रममा भिजनरी इन्टरनेशनलका सिइयो इन्द्र गुरुङले संस्थाका नेतृत्वले सोच परिवर्तन ल्याउन जरुरी रहेको बताए । आइएलओका प्रोजेक्ट संयोजक प्रकाश शर्मा, कार्यक्रमका अध्यक्षता गरिरहेका रिमालले संस्थामा प्रविधि अनिवार्य र युगको आवश्यक्त भएकाले सोही अुनसार अघि बढ्नुपर्ने धारणा राखे ।

राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा भएको महासम्मेनको शनिबार समापन हुँदैछ । कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञहरुले विषयगत कार्यपत्र प्रस्तुत भइरहेका छन् । महासम्मेलनमा ७० जिल्लाका करिब १ हजार जनाको सहभागीता रहेको छ ।

प्रकाशित : २५ चैत्र २०७९, शनिबार १०:१५