‘नेपालमा आवश्यक सहकारीको संख्या तय गरेर एकीकरणमा जापानीज मोडल अपनाऔं, स्वतस्फूर्त जुटौं’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

‘नेपालमा आवश्यक सहकारीको संख्या तय गरेर एकीकरणमा जापानीज मोडल अपनाऔं, स्वतस्फूर्त जुटौं’



काठमाडौं । नेपाल सरकारका सचिब बैकुन्ठ अर्यालले सहकारी एकीकरणमा जापानीज मोडालिटी नेपालका लागि उपयुक्त हुने बताएका छन् । विहीबारबाट काठमाडौंमा शुरु भएको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको दोस्रो दिन शुक्रबार ‘सहकारी एकीकरण ः ठूलो सोचौं, ठूलो बनौं’ विषयगत छलफलमा जेए जेन्चु जापानका सिनियर म्यानेसर टोक्यो इचियाले प्रस्तुत कार्यपत्रमाथि समीक्षा गर्दै उनले सहकारी एकीकरण प्रक्रिया लामो हुने भएपनि जापानीज मोडल पछ्याउनुपर्ने बताए ।

‘जापानले कृषि सहकारीहरुलाई प्राथमिकता दिएको रहेछ । १३ हजार बढी सहकारीलाई एकीकरण गरेर ६ हजारमा पुर्याउँदा त्यहाँको पुँजी, व्यापार, उत्पादन बढाएर अर्थतन्त्रमा ठूलो टेवा पुर्याएको छ । त्यसैले नेपालमा पनि सहकारीहरुले स्वतस्फूर्त रुपमा एकीकरण प्रक्रिया शुरु गर्नुपर्छ । सरकारको निर्देशन पर्खिरहनु पर्दैन ।’

सचिब अर्यालले समग्र वित्तिय क्षेत्रमा खराब कर्जालाई व्यवस्थापन ठूलो चुनौति रहेको बताउँदै ठूलो सहकारी बनाउनुअघि शासकीय प्रणाली पनि बलियो बनाउनुपर्ने औंल्याए । नेफ्स्कुनका अध्यक्ष परितोष पौडयालले जापानको मोडलसँग नेपालीहरु अन्तरंगमा रहेकाले त्यहाँको फोर्स मर्च प्रणाली नेपालले अपनाउनुपर्ने बताए । उनले भने,‘नेपालमा दर्ता प्रणाली नै तीन तहमा छ । यसले समस्या निम्ताइरहेको छ । तर अब नेपालमा कति सहकारी आवश्यक भन्ने निष्कर्ष महासम्मेलनले तय गर्नुपर्छ र जापानीज मोडालिटीको अभियान शुरु गर्नुपर्छ ।’

ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले सहकारीमा स्वार्थको नेक्सस रहेकाले त्यसलाई तोडेर एकीकरणको मोडल अपनाउनुपर्ने बताए । उनले ठूला र साना सहकारीहरुमा फरक फरक समस्या रहेकाले कस्तो मोडल अपनाउने भन्ने कुराको निष्कर्ष निकाल्नुपर्ने सुझाव दिए ।

राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा शुरु भएको महासम्मेन २५ गतेसम्म सञ्चालन हुँदैछ। कार्यक्रममा ११ वटा राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञबाट कार्यपत्र प्रस्तुत भइरहेका छन् । महासम्मेलनमा ७० जिल्लाका करिब १ हजार जनाको सहभागीता रहेको छ ।

प्रकाशित : २४ चैत्र २०७९, शुक्रबार १६:५८