काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एसएमई प्लेटफर्म संचालनको लागि आवश्यक पर्ने नियमावलीको मस्यौदा सार्वजनिक गरेको छ । बोर्डले बिहिबार मस्यौदा सार्वजनिक गरदै कम पुँजी भएका कम्पनीलाई एसएमई प्लेटफर्ममा राखेर एसएमई प्लेटफर्मको छुट्टै इन्डेक्स बनाएर कारोबार गराउने तयारी गरेको हो।
मस्यौदामा यस नियमावली बमोजिम धितोपत्र दर्ता गराउने संगठित संस्थाको चुक्ता पूँजी बढीमा पच्चीस करोड रुपैयाँ हुनुपर्ने उल्लेख छ । तर साना तथा मझौला संगठित संस्थाको उपस्थिती र बजारको अवस्था हेरी बोर्डले चुक्ता पूँजीको सीमा हेरफेर गर्न सक्ने उल्लेख छ । बोर्डले १५ दिन भित्र मस्यौदामा राय सुझाव पेश गर्न भनेको छ ।
बोर्डले लामो समयदेखि साना तथा मझौला कम्पनीको शेयर कारोबारको लागि छुट्टै एसएमई प्लेटफर्म संचालन गर्न चाहेको थियो । बोर्डले सो को लागि व्यवस्था गर्न नेप्सेलाई निर्देशन पनि दिएको थियो । तर नेप्सेले प्रष्ट कानुनी आधार नभएसम्म एसएमई प्लेटफर्म संचालन गर्न नसकिने बताएपछि कानुनी सुधार गरेर नियमावली मै यसलाई समावेश गर्न लागेको हो ।
अहिले सबै खालको कम्पनीलाई एकै ठाउँमा राखेर कारोबार गराउंदा जति असहज भएकाे छ अब एसएमई प्लेट फर्म आएपछि त्यस्तो नहुने बोर्ड अध्यक्ष हमालले बताएका छन् ।
Comment