बैंक खाता भाडामा लिएर नेपालमा चिनियाँ गिरोहको ठगी धन्दा : ९ चिनियाँ सहित १९ जना पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बैंक खाता भाडामा लिएर नेपालमा चिनियाँ गिरोहको ठगी धन्दा : ९ चिनियाँ सहित १९ जना पक्राउ



काठमाडौं । अनलाइन व्यापारको नाममा ठगी गर्ने ९ चिनियाँ र १० नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले, बुधबार पत्रकार सम्मेलन गर्दै नेपालमा बसेर नेपालीलाई नै ठग्ने चिनियाँ नेतृत्वको गिरोहलाई पक्राउ गरिएको जानकारी दिएको हो ।

अनलाइन व्यापारमा लगानी गरेबापत ३० प्रतिशत कमिसन पाउने लोभमा गिरोहले एकै व्यक्तिलाई ४८ लाख रूपैयाँसम्म ठगेको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीले जानकारी दिए ।

गठीमा ५ महिला र ५ पुरुष गरी १० नेपाली समेत सामेल छन् । केही समयअघि एक व्यक्तिले अनलाइन व्यापार ४८ लाख रूपैयाँ ठगीमा परेको भएको भन्दै उजुरी दिएपछि घटनाको अनुसन्धान थालिएको प्रमुख केसीले जानकारी दिए ।

उनले भने ‘ अनलाइन व्यापारको नाममा सामान खरिद गर्न लगाएर सामान बिक्री भएजस्तो गरेर सुरूसुरूमा कमिसन पठाउने रहेछन् । तर, लगानी बढ्दै जाँदा कमिसन बन्द भएपछि पीडित आफू ठगिएको थाहा पाउने अवस्था देखियो’ । उजुरी गर्ने पीडितले पनि ५० हजार रूपैयाँ लगानी गरी कमिसन खुरुखुरु पाएपछि ४८ लाख रूपैयाँ लगानी भइसकेको पत्तै नपाएको पीडितको भनाई उद्धत गर्दै केसीले भने ।

प्रहरीले ती पीडितले रकम जम्मा गरेका चारवटा बैंक खाताबाट अनुसन्धान सुरु गरेपछि गिरोह पत्ता लगाएको हो । ती चारवटा खातामा मात्रै डेढ महिनाको अन्तरमा एक करोड ६४ लाख रूपैयाँभन्दा बढीको कारोबार भएको देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले ९ जना चिनियाँले काठमाडौंको विभिन्न तीन ठाउँमा कार्यालय खोलेर नेपालीलाई सम्पर्क गरेर खाता खोल्न लगाएको र खाता खोले मासिक १० हजार रूपैयाँ पाइने प्रलोभनमा परेर अनलाईन बैंकिङको युजरनेम र पासवर्डसमेत गिरोहलाई बुझाएको पाइएको जनाएको छ ।

प्रकाशित : १५ चैत्र २०७९, बुधबार २०:३७