काठमाडौं । राष्ट्रियसभा सदस्य तुलप्रसाद विश्वकर्माले, दलितभएकै कारण आफूले काठमाडौँमा चार महिनासम्म डेरा नपाएको दुखेसो गरेका छन् । राष्ट्रिय सभामा पेस गरिएको सङ्कल्प प्रस्तावको समर्थनमा बोल्दै उनले, दलित माथि हुँदै आएको विभेद दुःखद र गहिरो रहेको बताए ।
उनले भने ‘काठमाडौँमा चार महिना सम्म डेरा पाइन । छ ठाउँमा मेरो डेरा क्यान्सिल भयो । गयो सबै कुरा मिल्छ, अन्तमा हजुर के थरी भनेर सोध्छन् । डेरा क्यान्सिल हुन्छ । लास्टमा मैले दलित समुदायकै मानिस खोजेर बसिरहेको छु । यो खालको दुःखद अवस्था छ ।’
दलित भएकै कारण विभेद प्रत्यक्ष भोगेकाले पनि यसको स्वरूप गहिरो रहेको आफ्नो अनुभव उनले सुनाए । गणतन्त्रमा सबैलाई समान व्यवस्था हुँदा पनि जातीय विभेद र छुवाछुतको अन्त्य हुन नसकेको तर्फ उनले चिन्ता व्यक्त गरे । निरन्तर रूपमा दलित माथि विभेदका घटनाहरू भई रहेको भन्दै उनले तराईका वडा अध्यक्षकै घरमा भएको विभेदले लज्जित बताएको बताए ।
बुधवार राष्ट्रिय सभा बैठकमा राष्ट्रियसभा सदस्य भुवन सुनार प्रस्तावक रहेको दलित समुदायमाथि विभेद र उत्पीडन अन्त्य गरी सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धि सङ्कल्प प्रस्ताव पेश भएको छ । सो प्रस्तावमा सुरेश आले, गोपी अछामी, तुलप्रसाद विश्वकर्मा, जगबहादुर पार्की , सिंहबहादुर विश्वकर्मा,नरपतिलुहार, लगायत सांसदले समर्थन जनाएका छन् ।
Comment