वातावरणमा परेको प्रभावबारे स्वःअध्ययन प्रतिवेदन बुझाउन उद्योगहरुलाई निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

वातावरणमा परेको प्रभावबारे स्वःअध्ययन प्रतिवेदन बुझाउन उद्योगहरुलाई निर्देशन



काठमाडौं । वातावरण विभागले देशभरका उद्योगलाई वातावरणमा परेको प्रभावबारे स्वःअध्ययन प्रतिवेदन अनिवार्य रुपमा बुझाउन निर्देशन दिएको छ। विभागले आइतबार एक सूचना जारी गर्दै उद्योग, प्रतिष्ठान र आयोजनालाई उक्त प्रतिवेदन बुझाउन निर्देशन दिएको हो।

‘वातावरण संरक्षण ऐन, २०७६को दफा १५ मा वातावरण विभागले नेपाल सरकारले लागू गरेको वातावरणीय मापदण्ड सम्बन्धमा अनुगमन तथा मूल्यांकन गर्ने तथा वातावारण संरक्षण नियमावली, २०७६ को नियम ४५ मा प्रस्तावकले प्रस्तावको निर्माण तथा सञ्चालन गर्ने चरणमा सोबाट वातावरणमा परेको प्रभावको विषयमा प्रत्येक ६ महिनामा स्वःअनुगमन गरी सोको प्रतिवेदन सम्बन्धित निकाय वा विभागमा पेस गर्नुपर्ने व्यवस्था छ’, सूचनामा भनिएको छ ।

‘तर, कतिपय उद्योग, प्रतिष्ठान एवं आयोजनाले यस्तो प्रतिवेदन बुझाएको पाइँदैन। यसमा विभागको गम्भीर ध्यानाकर्षण भएको छ।’ विभागले कानुन अनुसार स्वःअध्ययन प्रतिवेदन बुझाउनुपर्ने भनी तोकिएका सबै उद्योग, प्रतिष्ठान र आयोजनाहरुलाई यस्तो प्रतिवेदन बुझाउन ताकेता गरेको हो।

वातावरण संरक्षण नियमावलीको नियम ४५ अनुसार यस्तो प्रतिवेदन नबुझाए कानुनबमोजिम कारबाही गर्ने चेतावनीसमेत विभागले दिएको छ।

प्रकाशित : ५ चैत्र २०७९, आईतवार १४:४५