डिजिटल लर्निङ, साक्षरता र क्षमता अभिवृद्धिमा सरोकारवालाको जोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

डिजिटल लर्निङ, साक्षरता र क्षमता अभिवृद्धिमा सरोकारवालाको जोड



काठमाडौं । एडचेन्ज नेपालले डिजिटल लर्निङ डे २०२३ नेपालमा पनि मनाएको छ। डिजिटल सिकाई र अभ्यासलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्ने उद्देश्यले फागुन ११ गते बिहीबार ‘इम्पावरिङ द फ्युचर थ्रो डिजिटल लर्निङ’ विषयमा कार्यक्रमको आयोजना गर्दै डिजिटल लर्निङ डे मनाएको हो।

एडचेन्ज नेपालकी अध्यक्ष डा. राजेश्वरी मल्लको सभापतित्वमा सुरु भएको कार्यक्रमको प्रमुख अतिथिमा सांसद तथा नेपाली कांग्रेसका नेता एनपी साउदको उपस्थिति रहेको थियो। यस्तै विशेष अतिथिका रुपमा पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश शाह, खुला विश्वविद्यालयकी उपकुलपति प्रा.डा. सिलु मानन्धर बज्राचार्य र सुदूरपश्चिम प्रदेश सभाका सदस्य पदम शाहीको सहभागिता थियो।


कार्यक्रममा अतिथिका रुपमा प्याबसनका अध्यक्ष डीके ढुंगाना, प्याब्सका सह–अध्यक्ष सुवास न्यौपाने, काठमाण्डौ विश्वविद्यालय स्कुल अफ एजुकेसनका डिन प्राडा बालचन्द्र लुइँटेल, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सुवास ढकाल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गोविन्दप्रसाद अर्याललगायतका शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्वको उपस्थिति थियो।

कुपन्डोलस्थित होटेल हिमालयमा आयोजना भएको कार्यक्रममा विभिन्न विज्ञहरुबाट कार्यपत्र प्रस्तुति, प्यानल सेसन र आइडिया पिचिङको भएको थियो। कार्यक्रमका वक्ताहरुले डिजिटल लर्निङ, साक्षरता र शिक्षकको क्षमता अभिवृद्धिमा जोड दिएका थिए।

कार्यक्रममा सहभागीलाई स्वागत गर्दै एडचेन्ज नेपालका संस्थापक सदस्य विकेश महर्जनले गुणस्तरीय शिक्षा र डिजिटल शिक्षालाई प्रवर्द्धन गर्न एडचेन्ज नेपाल संस्था स्थापना गरेको अवगत गराएका थिए।

डिजिटल शिक्षाका लागि राज्य अगाडि आउनुपर्ने बताउँदै कार्यक्रमका प्रमुख अतिथि एनपी साउदले डिजिटल शिक्षाका लागि संसद र सरकारमा पहल गर्ने प्रतिबद्धता जनाए। त्यस्तै प्याबसनका अध्यक्ष डीके ढुंगानाले शिक्षाको महत्वपूर्ण भागका रुपमा डिजिटल शिक्षा भइसकेको बताए।

कार्यक्रममा पूर्वमन्त्री गणेश शाहले शिक्षामा सरकारले लगानी गर्नुपर्नेमा जोड दिए। ‘शिक्षामा लगानी गरेमात्र देश समृद्ध हुन्छ’, उनले भने, ‘यसका साथै अब डिजिटल लर्निङ डेको ओनरसीप सरकारले पनि लिनुपर्छ। डिजिटल शिक्षाको इकोसिस्टम विकासमा जोड दिनुपर्छ।’

कार्यक्रममा मुख्य वक्ताका रुपमा रहेका काठमाण्डौ विश्वविद्यालयका डिन प्राडा बालचन्द्र लुइँटेलले एआई धेरै परिस्कृत भएको जानकारी दिदै अब क्रियटिभ र समस्या केन्द्रित सिकाइ हुनुपर्ने बताए।

नेपाल खुला विश्वविद्यालयका असिस्टेन्ट प्रोफेसर डा. भोजराज घिमिरेले डिजिटल शिक्षामा भएका प्रयास, चुनौती र गर्नुपर्ने कामको बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्यानल डिस्कसनसमेत भएको थियो। सेसनमा वक्ताका रुपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सुवास ढकाल, शिक्षा तथा मानव स्रोत केन्द्रका निर्देशक गोविन्दप्रसाद अर्याल, युनेस्को नेपालका शिक्षा शाखा प्रमुख डा. ध्रुवराज रेग्मी, प्याब्सनका सहअध्यक्ष सुवास न्यौपाने र नागार्जुन नगरपालिकाकी उपमेयर सुशीला अधिकारीको उपस्थिति थियो। सेसनलाई आईसिटी फाउन्डेसन नेपालका सहसंस्थापक तथा नलेज म्यानेजमेन्ट विज्ञ हेमपाल श्रेष्ठले सहजीकरण गरेका थिए।

प्यानल डिसकसन सेसनमा उपसचिव ढकालले डिजिटल लर्निङका लागि सबैले सहकार्य गर्नुपर्नेमा जोड दिए। डिजिटल लर्निङको सिस्टम केन्द्रिकृत हुनुपर्ने र कन्टेन्ट लोकलाइज हुनुपर्ने उनको भनाइ छ।

यस्तै अर्का वक्ता गोविन्द अर्यालले केन्द्रले गरेका कामका बारे जानकारी दिँदै विविध कारणले डिजिटल लर्निङको क्षेत्रमा जति गर्नुपर्ने काम हो, त्यति गर्न नसकेको स्वीकार गरे।

यस्तै डा. ध्रुवराज रेग्मीले दुर्गम क्षेत्रमा लर्निङ र टिचिङ क्यापासिटीको ग्याप रहेको जानकारी दिए। त्यसैगरी सेसनमा प्याबसनका सुवास न्यौपानेले डिजिटल बिनाको शिक्षा कल्पना गर्न नसकिने बताए। उपमयेर अधिकारीले डिजिटल लर्निङका लागि सबैको सहकार्य, समन्वय र सह–अस्तित्वको भावानासहित अगाडि बढ्नुपर्ने बताइन्। कार्यक्रममा शिक्षकहरुले टिचिङ अभ्यासको बारेमा नयाँ नयाँ आइडियाहरु प्रस्तुत गरेका थिए।

कार्यक्रममा निमा एकेडेमी, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी, मेन्टर ल्याब, लर्डबुद्ध एजुकेसन फाउन्डेसन, अपग्राड, कोडिङगल, वर्ल्ड भिजन, सेभ द चिल्ड्रेन, चाइल्ड फण्ड, चाइल्ड सेफ नेट, एनप्याबसन, एपेक्स लाइफ स्कुल, लिभिङ विथ आइसिटी, आइसिटी फाउन्डेसन नेपाल, काठमाडौं विश्वविद्यालय र नेपाल खुला विश्वविद्यालयको सहकार्य रहेको थियो।

प्रकाशित : १२ फाल्गुन २०७९, शुक्रबार १५:०७