‘सहकारी क्षेत्र बचाउँ’ भन्दै सहकारीकर्मी आन्दोलनमा, सहकारी नेता विरुद्ध महासंघमा धर्ना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

‘सहकारी क्षेत्र बचाउँ’ भन्दै सहकारीकर्मी आन्दोलनमा, सहकारी नेता विरुद्ध महासंघमा धर्ना



काठमाडाैं । सहकारीमा देखिएको समस्या समाधान गर्न माग गर्दै सहकारीकर्मीले राष्ट्रिय सहकारी महासंघको कार्यालयमा धर्ना तथा घेराउ गरेका छन् ।

पछिल्लो समय सहकारीमा देखिएको समस्याका कारण शेयर सदस्य, संचालक र कर्मचारीहरु प्रताडित हुँदा पनि सहकारी अभियान र राज्यले समाधानका लागि उचित पहल नगरेको गुनासो गर्दै उनीहरुले महासंघको ध्यानाकर्षण गराएका हुन् । सहकारी क्षेत्रमा विद्यमान असहज परिस्थितकाे समाधान गर्नेतर्फ नेतृत्वको भूमिका फितलो भएको उनिहरुको भनाई छ ।

सहकारी क्षेत्र बचाउँ, सहकारी नेता कहाँ छन्, कर्जा सूचना केन्द्र स्थापना गर, समस्या सहकारीको होइन विश्वासको हो, सन्दर्भ ब्याजदर खारेज गर, सदस्यको बचतको ग्यारेण्टी गर, काम गर्ने वातावरण सिजर्ना गर, सहकारी महासंघ आँखा खोल, सहकारीका नेता कहाँ छन् , झोले नेता चाँहिदैन सहकारी मास्न पाइँदैन भन्दै उनीहरूले नाराबाजी गरेका हुन् ।

उनीहरूले महासंघका अध्यक्ष मीनराज कँडेललाइ १३बुँदे मागपत्र समेत पेश गरेका छन् ।

यस्तो छ १३ बुँदे मागपत्र:

१) सहकारी क्षेत्रमा देखिएको तरलता अभाव लगायतको समस्यालाई सामूहिक समस्याकोरुपमा स्वीकार गर्दै राज्य र अभियानको तर्फबाट समाधानका लागि आवश्यक सम्बोधन गर्नुपर्ने ।

२) सन्दर्भ ब्याजदर तत्कार खारेज गरि ब्याजदर स्वतन्त्ररुपमा बजारलाई नै निर्धारण गर्न दिनुपर्ने ।

३) तरलता संकट ब्यवस्थापनका लागि राज्यले कोषको ब्यवस्था गर्नुपर्ने ।

४) कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधीकरण तत्काल स्थापनाका लागि पहल गर्नुपर्ने ।

५) ऋण तिर्न अटेर गर्ने ऋणी तथा जमानीको चल, अचल सम्पत्ति संस्थाको पत्रमार्फत रोक्का गर्ने व्यवस्था तत्काल लागू गर्ने ।

६) व्यक्तिगत बचतको सीमा २५ लाख तोक्ने गरि सहकारी ऐन संशोधन गर्न लागिएकोमा विरोध एवं दवाव सिर्जना गर्ने ।

७) प्रारम्भिक संस्थाका संचालक, व्यवस्थापक र कर्मचारीलाई निर्वाधरुपमा त्रासमुक्तरुपले संस्था संचालन गर्ने वातावरण हुनुपर्ने ।

८) सदस्यहरुको बचत सुरक्षाका लागि आवश्वस्त हुने वातावरण बनाउन सरकार र अभियानले स्पष्ट पहल गर्नुपर्ने ।

९) ब्याजकर दाखिला गर्ने समय एक वर्ष थप गर्नका लागि दवाव दिने ।

१०) संस्था संचालनका लागि आवश्यक वातावरण बनाउन कूलिङ पिरियड घोषणा गर्नुपर्ने ।

११) सहकारी नियमनका लागि सेकेन्ड टियर ईन्स्टिटुसन को व्यवस्था गर्नुपर्ने ।

१२) सहकारी क्षेत्रप्रति विश्वासको वातावरण बनाउन सरकार र अभियानले स्पष्ट पहल गर्नुपर्ने ।

१३) सहकारी क्षेत्रमा हाल देखिएका समस्या समाधानका लागि यसअघि महासंघद्वारा गठित समितिहरुका काम प्रभावकारी र परिणाममुखी हुनुपर्ने ।

प्रकाशित : २ फाल्गुन २०७९, मंगलवार १४:४४