काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत स्वतन्त्र भएको ७५औँ वार्षिकोत्सको सन्दर्भमा ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत शुक्रवार यहाँ आयोजित साङ्गीतिक कार्यक्रमा सहभागी भए । ‘सङ्गीत सुकुन’नामक कार्यक्रममा भारतीय साङ्गीतिक समूह कर्नाटिक २.० र नेपाली साङ्गीतिक समूह कुटुम्बले प्रश्तुती दिए ।
‘कुटुम्ब ब्याण्ड’ ले आफ्ना विविध प्रस्तुति गरेको सो समारोहमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको उपस्थिति रहेको थियो ।
त्यसैगरी परराष्ट्रमन्त्री विमला राई पौड्याल, पूर्वमन्त्री हिसिला यमी, सांसद, यहाँस्थित कूटनीतिक नियोगका पदाधिकारी, नेपाल सरकारका वरिष्ठ अधिकारी, कामको सिलसिलामा यहाँ रहेका भारतीय नागरिक लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा संक्षिप्त मन्तय व्यक्त गर्दै नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले नेपाल र भारत सांस्कृतिक रुपमा समान रहेकाले ती देशका पारम्परिक एवं लोक संस्कृति झल्किने साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिएको बताए ।
कार्यक्रममा भारतको ७४ औं गणतन्त्र दिवस पनि मनाइएको थियो । सो क्रममा कर्नाटिक २.० समूहले परम्परागत कर्नाटक राग र पुराना बलिउड गीतलाई आधुनिक शैलीमा प्रस्तुत गरेको थियो । त्यस्तै कुटुम्बले नेपाली मौलिक सङ्गीत प्रश्तुती गर्नुका साथै दुई साङ्गीतिक समूहले “तालको पानी माछीले खानी…” बोलको नेपाली लोक गीतपनि एक साथ प्रस्तुत गरे ।
Comment