आजदेखि सातै प्रदेशबाट श्रम स्वीकृति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आजदेखि सातै प्रदेशबाट श्रम स्वीकृति



काठमाडौं। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाण्डौबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा आजदेखि सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ। यसै सिलसिलामा आइतबारदेखि श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुने मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको मन्त्रीपरिषदले गत पौष ११ गते गरेको निणर्य कार्यान्वयन गर्ने क्रममा आजदेखि उपरोक्त स्थानबाटै श्रम स्वीकृत लिन सकिने छ। यसअघि काठमाडौं र उपत्यकाबाहिर पोखरा र भैरहवाबाट मात्रै यस्तो सेवा लिन सकिने व्यवस्था थियो।


प्रचण्ड नेतृत्व सरकारको मन्त्रीपरिषदको पहिलो बैठकले नागरिकहरूलाई प्रदान गर्दै आएका आधारभूत सेवा दिने निकायहरूको सेवा प्रवाहलाई सुगम, सरल र कम खर्चिलो झण्झटमुक्त बनाउने, यसमा देखिने गरी सुधारका कामहरू तत्काल आरम्भ गर्ने र कार्यान्वयन गर्ने निणर्य गरेको थियो।


सोही निणर्य कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मातहतका मन्त्रालयहरूलाई कार्ययोजना निर्माण गरी कार्यान्वयनमा जान निर्देशन दिएबमोजिम आजबाट थप दुई स्थानबाट श्रम स्वीकृति लिने व्यवस्था सुरु हुनेछ। सुर्खेत र धनगढीबाट भने छिट्टै प्राविधिक तथा भौतिक तयारीपछि यो सेवा सुरु हुनेछ। त्यसका लागि सरकारको तर्फबाट आवश्यक गृहकार्य भइरहेको जनाएकाे छ।


यसअघि प्रदेशहरूबाटै श्रम स्वीकृत लिन नसकिने अवस्थाका कारण नागरिकले सास्ती पाउँदै आएका थिए। वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित तुल्याउने प्रधानमन्त्रीको सोंचअनुसार श्रम स्वीकृतिका लागि कार्यालय बिस्तार गरिएको हो।


प्रधानमन्त्री प्रचण्डले सचिवहरूसँगको छलफलका क्रममा समेत नागरिकले राज्यबाट सेवा प्राप्त गर्न लामो लाइन र अन्य झन्झट व्यहोर्नुपर्ने अवस्था अन्त्य गर्न निर्देशन दिएका थिए।

प्रकाशित : २४ पुष २०७९, आईतवार ११:५१