कृषि सहकारी केन्द्रीय संघको १५औं साधारण सभाः यि हुन उत्कृष्ट किसान र सहकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सहकारी

कृषि सहकारी केन्द्रीय संघको १५औं साधारण सभाः यि हुन उत्कृष्ट किसान र सहकारी



काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. को १५ औं वार्षिक साधारण सभाका अवसरमा विहीबार उत्कृष्ट कृषकहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा साना किसान कृषि सहकारी संस्थामार्फत उत्कृष्ट कार्य गरेका शिर्ष साना किसान कृषि सहकारी संस्था लि, डडेलधुराका लालसिंह राउटेलाई उत्कृष्ट किसानका रुपमा पुरस्कृत गरिएको छ ।

यसैगरी धादिङका चेत बहादुर गाईने, धनुषाकी बिना देवी महरा चमार, भुटी देवी मुसहर्नी धनुषा, ललिता देवी दास तत्मा धनुषा, झापाकी फुलमुनी हेमरम सतार, इलामकी सङमीत लाप्चा र चितवनको शक्तिखोरकी टिकामाया प्रजालाई उत्कृष्ट किसान पुरस्कारबाट पुरस्कृत गरिएको थियो । कार्यक्रममा उत्कृष्ट युवा उद्यमी किसानबाट सुर्खेतकी देवीसरा घर्ती, नुवाकोटका सुन्दर नेपाल र कास्कीका भोज बहादुर तामाङलाई पुरस्कार प्रदान गरिएको थियो ।

यसैगरी उत्कृष्ट सञ्चालकको पुरस्कार उदयरपुरको महिला साना किसान कृषि सहकारी संस्था लि. सुन्दरपुरकी निवर्तमान अध्यक्ष किरण कुमारी चौधरीलाई प्रदान गरिएको थियो । यसैगरी देशभर रहेका ११ सय ३९ संस्था मध्ये साना किसान कृषि सहकारी संस्था लि. पृथ्वीनगर झापा र वसन्त साना किसान कृषि सहकारी संस्था लि. बदालपुर बर्दियालाई उत्कृष्ट साना किसान कृषि सहकारी संस्थाका रुपमा पुरस्कृत गरिएको थियो ।

समुदायमा आधारीत साना किसान कृषि सहकारी संस्था मार्फत साना किसान र गरिब किसानहरुको आर्थिक अवस्था सुधारका लागि काम गर्दै आएका संस्थामार्फत सेवा प्रवाहलाई उत्कृष्ट बनाउन सफल उत्कृष्ट प्रवन्धकका रुपमा समालवुङ साना किसान कृषि सहकारी संस्था लि. इलामकी शान्ता कार्की खड्का, साना किसान कृषि सहकारी संस्था लि. बज्रवारहीका ध्रव प्रसाद विडारी, साना किसान कृषि सहकारी संस्था लि. विरेन्द्र नगर चितवनका पुष्पराज राना र साना किसान कृषि सहकारी संस्था लि. बेदकोट दैजीका कर्ण बहादुर धामीलाई पुरस्कृत गरिएको थियो । यसैगरी नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. को तालिम तथा अनुसन्धान केन्द्र चितवनमा कार्यरत कर्मचारी रामहरी भट्टराईलाई उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत गरिएको थियो ।

नेपाल कृषि सहकारी केन्द्रीय संघमा अहिले देशभरका ११ सय ३९ साना किसान कृषि सहकारी संस्था लि. आवद्ध रहेका छन् । संघको सञ्जाल ७७ वटै जिल्लामा विस्तार भएको छ भने १२ लाख परिवारका ६० लाख परिवार सदस्यहरु आवद्ध रहेका छन् । ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधारसंगै आर्थिक, सामाजिक सचेतनाकोस्तर वृद्धिमा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. ले काम गर्दै आईरहेको छ । यसैगरी नेपाल सरकार, सहयोगी निकाय र सरोकारवाला निकायहरुसंग सहकार्य गर्दै कृषि र पशुजन्य उत्पादन र उत्पादकत्व बढाउन नेपाल कृषि सहकारी केन्द्रीय संघले नेतृत्वदायी भूमिका खेलीरहेको छ ।

प्रकाशित : २१ पुष २०७९, बिहीबार २०:०३