राष्ट्रियस्तरमा वित्तीय साक्षरता ५७.९ प्रतिशत (प्रतिवेदनसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्रियस्तरमा वित्तीय साक्षरता ५७.९ प्रतिशत (प्रतिवेदनसहित)



काठमाडौं। नेपालीहरुको समग्र राष्ट्रिय स्तरमा वित्तीय साक्षरता ५७.९ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय साक्षरता आधार सर्वेक्षण नतिजाले यस्तो देखाएको हो।

जसमा वित्तीय साक्षरताको तीन आयामको रुपमा रहेको वित्तीय ज्ञान ४७.३ प्रतिशत, वित्तीय व्यवहार ६३.५ प्रतिशत र वित्तीय मनोवृत्ति ६२.९ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ ।

सर्वेक्षणमा वयस्क जनसंख्याको २७.५ प्रतिशतले मात्र वित्तीय साक्षरताका तिनै आयाममा न्यूनतम अंक प्राप्त गरेका छन्। वित्तीय ज्ञानमा ३६.५ प्रतिशत वयस्क जनसंख्या, वित्तीय व्यवहारमा ५६.६ प्रतिशत र वित्तीय मनोवृत्तिमा ९५.४ प्रतिशत वयस्क मानिसहरुले न्यूनतम अंक प्राप्त गरेका छन्।

वित्तीय साक्षरतामा सबैभन्दा बढी अंक बागमती प्रदेशको ६४.५ प्रतिशत पाइएको छ भने मधेस प्रदेशले सबैभन्दा कम ५२ प्रतिशत रहेको छ। वित्तीय साक्षरता अंकमा भिन्नता हुनुको प्रमुख कारक तत्व प्रदेशबीचमा वित्तीय ज्ञानमा रहेको भिन्नता देखिन्छ। वित्तीय व्यवहारको र वित्तीय मनोवृत्तिको अंक भने सबै प्रदेशमा लगभग समान रहेको छ।

पुरुषको वित्तीय साक्षरता अंक ६१.८ प्रतिशत पाइएको छ। जुन महिलाको तुलनामा ७.५ प्रतिशतले बढी हो। पुरुषको वित्तीय ज्ञानमा अंक ५६.५ प्रतिशत रहेको छ। जुन महिलाको तुलनामा १७.९ प्रतिशतले बढी छ। वित्तीय ज्ञानमा लैंगिक भिन्नता सबै प्रदेशमा पाइन्छ।

यसमा युवापुस्ता वित्तीय साक्षरता र यसका आयामहरु सबैमा अगाडि रहेका छन्’, प्रतिवेदनमा भनिएको छ, ‘खासगरी वित्तीय ज्ञानमा युवा पुस्ताहरु बढी अगाडि छन्।’

सर्वेक्षणका क्रममा १८–३० वर्षका मानिसको वित्तीय साक्षरता अंक ६३.२ प्रतिशत रहेको पाइएको छ। जब कि ६० वर्ष काटेकाहरुको वित्तीय साक्षरता २७.९ प्रतिशत पाइएको छ।

त्यस्तै शिक्षाको तह बढ्दै जाँदा पनि वित्तीय साक्षरता बढ्दै गएको प्रतिवेदनको निष्कर्ष रहेको छ। अध्ययनका लागि देशभरिबाट १८ वर्ष माथिका कुल ९ हजार ३६१ नेपाली नागरिकलाई छनोट गरिएको थियो। व्यक्ति चयन गर्नका लागि बहु–चरण नमुना छनोट विधि प्रयोग गरिएको थियो।

पहिलो चरणमा सम्पूर्ण ७७ जिल्ला, दोस्रो चरणमा जिल्लाभित्रका सबै प्रकारका स्थानीय तह ९महानगरपालिका,उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका०, तेस्रो चरणमा कम्तीमा एक स्थानीय तह, चौथो चरणमा कम्तीमा एक वडा र अन्तमा चयन गरिएको वडाको मतदाता सूचीबाट सिस्टमेटिक रेन्डम विधिबाट उत्तरदाताहरु छनोट गरिएको थियो।

छनोट भएका व्यक्तिको सर्वेक्षणका लागि वडामा अवस्थित सामुदायिक विद्यालयका शिक्षकलाई गणकका रुपमा प्रयोग गरिएको थियो। ओईसीडीरआईएनएफई ९२०२२० मा आधारित प्रश्नावलीका आधारमा अन्तर्वार्ताका माध्यमबाट २०७८ पुस महिनामा तथ्यांक संकलन गरिएको थियो।

प्राप्त तथ्यांकलाई प्रत्येक व्यक्तिको वित्तीय साक्षरता र वित्तीय उपकरणहरुको प्रयोगको अवस्थालाई जनसंख्याको भारका आधारमा राष्ट्रिय, प्रादेशिक, जिल्ला र स्थानीय तहको प्रकारअनुसार सूचकहरु निकालिएको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित : ७ पुष २०७९, बिहीबार १७:०५