पीडित भन्छन् , ‘सुधिर बस्नेतले १० अर्ब रकम ठगेको छ, सरकारले असुली गरिदिनुपर्छ’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पीडित भन्छन् , ‘सुधिर बस्नेतले १० अर्ब रकम ठगेको छ, सरकारले असुली गरिदिनुपर्छ’



काठमाडौं २३  पुस । घरजग्गा ब्यवसायी सुधिर बस्नेतले करिब ९ हजार मान्छेको झण्डै १० अर्ब रकम ठगेको भन्दै पीडितहरुले सरकारसँग असुली गरिदिन माग गरेका छन् । शनिवार सुधिर पीडितहरुले रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरेर यस्तो माग गरेका हुन् ।

सुधिर बस्नेतको ठगी धन्दाबारे अध्ययन गर्न सरकारले यसअघि दुईओटा आयोग समेत गठन गरेको थियो । सरकारले गठन गरेको छुट्टाछुट्टै दुई आयोगले अघि सारेका प्रतिवदेनहरु अध्ययन गरि कार्यान्वयन गर्नुपर्ने पिडीतहरुको भनाई छ ।

कार्यक्रममा बोल्दै पीडित जनसमूहका अध्यक्ष घनानाथ ओझाले सुधिर बस्नेतले करिब ९ हजार मान्छेको ठूलो मात्रामा रकम खाएकोले यसको समाधानको लागि व्यक्तिले भन्दापनि सरकारले नै ठोस पहलकदमी लिनुपर्नेमा जोड दिए । उनले भने, ‘यो समस्याको समाधान गर्नको लागि सरकारले लिक्युडेटर नियुक्ती गर्नुपर्छ, यसको समाधान नेपाल सरकारबाहेक अरुले गर्न सक्दैनन्, त्यसैले सरकारले नै पहल कदमी लिनुपर्छ ।’

त्यस्तै ओझाले पीडित व्यक्तिहरुको हकमा पनि व्याज दिनुपर्ने र नसके व्याज मिनाहा गरि साँवा फिर्ता गर्नुपर्ने माग गरे । उनले भने, ‘सम्भव भए सबैको व्याज दिनुपर्छ नभएपनि बैंक र वित्तिय संस्थाको पनि व्याज मिनाहा हुनुपर्छ ।’

कार्यक्रममा जनसमूह सल्लाहकार समितिका सदस्य एवम् बरिष्ठ अधिवक्ता देवेन्द्र राज शर्माले यो समस्यालाई सरकारले आँफै जिम्मा लिएर बैंक तथा वित्तिय संस्था र पीडितहरुको परेको रकम उठाउन मद्दत गर्नुर्ने माग गरे । शर्माले भने,‘अरु कुनै उपायबाट यत्रो ठूलो हिनामिना तथा घोटलाको समधान हुने संभावना छैन, र देखिँदैन, तसर्थ जतिसक्दो छिटो सरकार आँफैले यो समस्याको समाधान गर्नुपर्छ ।’

त्यस्तै कार्यक्रममा काठमाडौं महानगरपालिकाका पूर्व कार्यकारी अधिकृत शिवभक्त शर्माले आफूहरु समस्या समाधानको लागि जस्तोसुकै कदम चाल्नपनि तयार रहेको बताउँदै भने,‘हामी यो समस्याको समाधान सरकारको सहजीकरणबाट होस् भन्ने चाहन्छौं, यदि भएन भने हामी बाध्य भएर आन्दोलनमा जान पनि तयार छौं, र हुनुपर्छ ।’

कार्यक्रममा पीडित ईन्दिरा अर्यालले सहकारीको घोटाला हुँदा पनि सरकार मुकदर्शक भएर बसिररहेको आरोप लगाउँदै यसको लागि मिडियाले सहयोग गर्नुपर्ने अपिल गरिन् । त्यस्तै कार्यक्रममा सरोकार समाजका अध्यक्ष अर्जुबहादुर अधिकारी, अधिवक्ता कृष्णकुमार थापा, पूर्व सह–सचिव हरिप्रसाद रिमाल लगायतले बोलेका थिए ।

ठगी मुद्दामा जेल सजायको फैसला सुनाईएका बस्नेत हाल कारागारमा छन् ।

प्रकाशित : २३ पुष २०७३, शनिबार १६:२०