उज्यालो दिशातर्फ अर्थतन्त्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

उज्यालो दिशातर्फ अर्थतन्त्र



काठमाडौं। नेपालको अर्थतन्त्रमा देखिएको गम्भिर अवस्था १५ महिनापछि सुधार हुँदै गएको देखिएको छ । चालू आर्थिक वर्षको तेस्रो महिनादेखि सुधार देखिएको देशको आर्थिक तथा वित्तीय स्थिति चौथो महिनामा आएर थप मजबुत हुँदै गएको छ ।

गत कात्तिकसम्म विदेशी विनिमय सञ्चितीमा सुधार हुन गई शोधानान्तर बचत वृद्धि भएको छ । यस्तै रेमिट्यान्स आप्रवाहमा सुधार, कुल वस्तु व्यापार घाटामा कमी आएको छ । कोरोनापछि विदेश जाने श्रमिकहरुको बृद्धि, सरकारले प्रतिबन्ध लगाएका कारण आयातमा परेको असरका कारण देशको अर्थतन्त्र सुधारको दिशामा अघि बढेको हो । यद्यपि अझै सचेततापूर्वक अघि बढ्नुपर्ने चुनौति भने छदैछ ।

वस्तु आयात प्रतिवन्धले मुलुकको वाह्य क्षेत्रमा देखिएको सुधारले देशका आर्थिक तथा वित्तीय अवस्थाका प्राय सूचक सकरात्मक देखिएका छन । शोधनान्तर स्थितिमा सुधार आई २० अर्ब ३ करोडले बचतमा रहेको छ । गएको असोजमा शोधानान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँ बचतमा थियो । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा बढेर ९ अर्ब ६३ करोड पुगेको छ । कात्तिकमा ९ अर्ब ४८ करोड डलर थियो । आर्थिक वर्ष ०७९÷८० को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.७ महिनाको वस्तु आयात र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

चौथो महिनामा आयात १८.१ प्रतिशत, निर्यात ३३.३ प्रतिशत बढेको छ । निर्यात बढ्दा कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, ऊनी गलंैचा, चिया, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, जुटका सामान, लत्ताकपडा लगायतका वस्तुको निर्यात घटेको छ ।

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २०.४ प्रतिशत र अमेरिकी डलरमा १०.८ प्रतिशत बढेको छ । सरकारले आयातमा लगाएको प्रतिबन्ध र बैंकको ब्याजदर वृद्धिले आर्थिक तथा वित्तीय अवस्थामा सुधार हुन थालेको हो ।

आयात प्रतिबन्ध कायम रहँदा विदेशी मुद्रा सञ्चितीमा सुधार आउनुका साथै शोधानान्तर अवस्थामा थप सुधार आएको राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाले देखाएको छ । यस्तै वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ८.६ र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ५.४ प्रतिशत छ । आयातमा भएको प्रतिबन्धले गर्दा कर्जा प्रवाह खुम्चिएको छ ।

१४ महिनादेखि निरन्तर घाटामा रहेका भुक्तानी सन्तुलन १५ औं महिनामा असोजदेखि बचतमा आएको थियो । सरकारले पुस १ गतेदेखि आयातमा लगाएको सबै प्रतिवन्ध हटाएकाले वस्तु आयात बढेर डलर सञ्चिती घट्न गई फेरी शोधानान्तर बचतमा दबाब पर्ने संभावना पनि त्यत्तिकै छ ।

राष्ट्र बैंकका अनुसार २०७८ असारमा १ अर्ब २३ करोड रूपैयाँ बचतमा रहेको भुक्तानी सन्तुलन २०७९ वैशाखमा २ खर्ब ८८ अर्ब ५० करोड रूपैयाँ घाटामा पुगेको थियो। २०७९ वैशाखमा ९ अर्ब २८ करोड डलर विदेशी विनिमय सञ्चिति रहेको थियो ।

२०७९ असार मसान्तको तुलनामा २०७९ कात्तिक मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.५१ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ०.१३ प्रतिशतले अधिमूल्यन भएको थियो ।

प्रकाशित : २९ मंसिर २०७९, बिहीबार १६:०४