काठमाडौं । बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानी गर्न बाँकी रहेको रकम मध्ये १ अर्ब ८१ करोड रूपैयाँ भुक्तानी गर्ने भएको छ । अर्थ मन्त्रालयले दाबी भुक्तानीको लागि एक अर्ब रुपैयाँ निकास गरेपछि बीमा समितिले दाबी भुक्तानी प्रकृया अन्तिम चरणमा पुर्याएको हो ।
सरकारले कोरोना बीमाको दाबी भुक्तानीको लागि १ अर्ब रूपैयाँ निकासा गरेको थियो । जसमा बीमा समिति, बीमा कम्पनीहरु र नेपाल पुनर्बीमा कम्पनीले ८१ करोड रुपैयाँ थपेर कुल एक अर्ब ८१ करोड रुपैयाँ बराबरको भुक्तानी गर्ने भएको छ ।
नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले अर्थबजारसंग कुरा गर्दै सरकारले एक अर्ब रुपैयाँ दिएकोमा त्यसलाई ५५ प्रतिशत मानेर बाँकी ४५ प्रतिशतले हुने ८१ करोड बीमा समिति, बीमा कम्पनीहरु र नेपाल पुनर्बीमा कम्पनीले थपेर भुक्तानी दिइने जानकारी दिए ।
साथै, उनले ८१ करोडमध्ये बीमा समितिले २५ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीले १२ प्रतिशत र बीमा कम्पनीहरुले ८ प्रतिशत रकम थपेर आइतबार छलफलको लागि बैठक बस्ने र सबै रकम जुटी सकेपछि एक साता भित्रमा दाबी रकम भुक्तानी गर्ने बताए ।
त्यस्तै उनले भुक्तानी गर्नुपर्ने रकम थोरै भएकोले बीमा समितिले पीसीआर परीक्षण मितिको आधारमा भुक्तानी दिने निर्णय भएको पनि उनले जानकारी दिए ।
कोरोना बीमा मार्गदर्शन २०७७ अनुसार १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमा गरेकोमा १ लाख ६५ हजार ५९ बीमितले १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रूपैयाँ बराबरको दावी परेको थियो ।
जसमध्ये बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा समिति समेतबाट ३ अर्ब ५० करोड दावी भुक्तानी गरिसकेका छन् । १२ अर्ब भन्दा बढी दावी भुक्तानी बाँकी रहेको कम्पनीले जनाउदै आएका छन् ।
Comment