विदेशमा बस्ने नेपालीलाई आईपीओमा कोटा प्रणाली लागु, यस्तो छ प्रक्रिया « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

विदेशमा बस्ने नेपालीलाई आईपीओमा कोटा प्रणाली लागु, यस्तो छ प्रक्रिया



काठमाडौं । नेपाल धितोपत्र बोर्डले बैदेशिक रोजगारीमा जाने नेपालीलाई आईपीओमा कोटा छुट्याउने भएको छ । नेपाल धितोपत्र बोर्ड ९सेबोन०ले धितोपत्र निष्कासन तथा बाँडफाँड (छैटौँ संशोधन) निर्देशिका, २०७९ लागू गर्दै यस्तो व्यवस्था गरेको हो।

नयाँ व्यवस्थाअनुसार अब संगठित संस्थाहरुले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्नुअगावै सार्वजनिक निष्कासन गरिने सेयरको १० प्रतिशत नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीका लागि छुट्याउनुपर्नेछ।

यसरी छुट्याइएको सेयर निष्कासन तथा बिक्री प्रबन्धकले सर्वसाधारणका लागि निष्कासन गर्नुअगावै १५ दिनको अवधि तोकी आह्वानपत्र प्रकाशित गर्नुपर्ने व्यवस्था पनि सेबोनले गरेको छ।

यसरी छुट्याइएको आईपीओमा आवेदन दिन सेबोनबाट अनुमतिप्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामा रहेको विप्रेषण (रेमिट्यान्स) बचत खातामार्फत मात्र भुक्तानी गर्नुपर्नेछ।

यस्तो बचत खातामा पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार नेपाली रुपैयाँ सम्बन्धित व्यक्तिले आफू रोजगार रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्नेछ।

विदेशमा रहेका नेपालीहरुलाई आईपीओ जारी गरेपछि मात्रै सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न पाउने व्यवस्था पनि सेबोनले गरेको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरिएको आईपीओ बिक्री हुन बाँकी रहेको सेयर सर्वसाधारणका लागि थप गरी निष्कासन गर्न पाइने पनि संशोधित निर्देशिकामा उल्लेख छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको आईपीओमा आवेदन दिएका नेपालीले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा भने आवेदन दिन पाउने छैनन्।

प्रकाशित : १७ कार्तिक २०७९, बिहीबार १७:२६