शेयर बजारमा उत्साह,नेप्से परिसूचक ५६.११ अंकले बढ्यो  « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शेयर बजारमा उत्साह,नेप्से परिसूचक ५६.११ अंकले बढ्यो 



काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले उकालो लागेको छ । आज नेप्से ५६.११ अंकले बढेर एक हजार ९ सय ३० दशमलब ९९ विन्दुमा पुगेर बन्द भएको हो । आज सेन्सेटिभ इण्डेक्स ११.२८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.७२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७५ अंक बढेको छ।

त्यस्तै, आज कारोबार रकममा पनि सुधार देखिएको छ । आज नेप्सेमा एक अर्ब २९ करोड ६ लाख ६४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका २३१ कम्पनीमध्ये १८१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज एक कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा न्यादी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २८८.२० रुपैंयामा कारोबार भएको छ। त्यसैगरी, युनिभर्सल पावर कम्पनीको पनि शेयरमूल्य ९ प्रतिशतले बढेर प्रतिकित्ता २१८ रुपैंयमा कारोबार भएको छ ।

नेप्सेका अनुसार एनसीसी डिभेन्चर सिटिजन म्युचुअल फण्ड –१ का लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एशिया बैंकको भएको छ । यसको आज ६ करोड ६५ लाख ६० हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : १५ कार्तिक २०७९, मंगलवार १५:४९