शेयरबजार दोहोरो अंकले बढ्यो , ६९ करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शेयरबजार दोहोरो अंकले बढ्यो , ६९ करोडको कारोबार



काठमाडौं । करिब एक साताको तिहार बिदापछि खुलेको पहिलो दिनको शेयर कारोबार दोहोरो अंकले बढेको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.३९ अंकले बढेर एक हजार ८ सय ७४ दशमलब ८७ विन्दुमा पुगेर बन्द भएको हो । आज सेन्सेटिभ इण्डेक्स ४.९३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१९ अंक बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इण्डेक्स १.८५ अंक बढेको छ।

त्यस्तै, आज कारोबार रकममा पनि सुधार देखिएको छ । आज नेप्सेमा ६९ करोड ७३ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । तिहार अघि ५१ करोड ६८ लाख बराबरको कारोबार भएको थियो । आज कारोबार भएका २२४ कम्पनीमध्ये ११० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ६५ वटा कम्पनीको शेयरमूल्य घटेको छ । १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज एक कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा सयपत्री हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३१३.५० रुपैयाँ पुगेको छ । त्यस्तै, नेपाल एसबीआई बैंकको शेयरमूल्य पनि ८.२४ प्रतिशतले बढेर प्रतिकित्ता २८९ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको हो । कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एशिया बैंकको भएको छ । यसको आज ६ करोड १७ लाख २१ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : १४ कार्तिक २०७९, सोमबार १५:३५