तिहार अघिको अन्तिम कारोबारमा दाेहाेराे अंकले बढ्याे बजार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

तिहार अघिको अन्तिम कारोबारमा दाेहाेराे अंकले बढ्याे बजार



काठमाडौं । तिहारअघि शेयर कारोबार गर्ने आज आइतबार अन्तिम दिन रहेको छ। केहि दिनदेखि निरन्तर ओरालो लागेको शेयरबजार आइतबार भने दोहोरो अंकले बढेको छ । आज नेप्से १४.३५ अंकले बढेर एक हजार ८ सय ५८ दशमलब ४९ विन्दुमा पुगेर बन्द भएको हो ।

आज सेन्सेटिभ इण्डेक्स २.४१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.९९अंक बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९० अंक बढेको छ।

त्यस्तै, आज शेयर बजार बढेसंगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ। आज नेप्सेमा ५१ करोड ६८ लाख ३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । गत बिहीबार नप्सेमा ५० करोड ७६ लाखको कारोबार भएको थियो ।

आज कारोबार भएका २२१ कम्पनीमध्ये ११३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ५६ वटा कम्पनीको शेयरमूल्य घटेको छ। साथै, १२ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

यसमध्ये पनि आज दुई कम्पनीको शेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा रु रु जलविद्युत परियोेजनाको शेयर १० प्रतिशतले बढेर प्रतिकित्ता ८३६ रुपैयाँ पुगेको छ भने सयपत्रि हाइड्रोपावरको पनि शेयर १० प्रतिशतले बढेर प्रतिकित्ता २८५ रुपैंया पुगेको छ ।

नेप्सेका अनुसार आज सिटिजन्स म्युचुअल फण्ड २ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी ऐभरेष्ट बैंकको भएको छ । यसको आज ५ करोड १६ लाख ३२ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : ६ कार्तिक २०७९, आईतवार १५:२८