बीमाको पहुँच ४४.०५प्रतिशतमा पुग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बीमाको पहुँच ४४.०५प्रतिशतमा पुग्यो



काठमाडौं । भदौसम्ममा बीमाको पहुँच ४४.०५प्रतिशत पुगेको छ। बीमामा समितिबाट प्राप्त चालू आर्थिक वर्षको भदौ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

गत आर्थिक बर्षको सोहि अवधिमा २८.१६ प्रतिशत नेपालीमा बीमाको पहुँच पुगेको थियो । सार्वाधिक बीमा, म्यादी बीमा र वैदेशिक रोजगार म्यादी बीमामा आबद्ध जनसंख्याको आधारमा त्यस बराबरको नेपाली बीमाको दायरामा देखिएका हुन् ।

त्यस्तै, भदौ मसान्तसम्म कुल जीवन बीमालेख ५९.३३ प्रतिशतले बढेको समितिले जनाएको छ । समितिको तथ्याङक अनुसार गत वर्षको भदौ मसान्तसम्म कुल बीमालेख सङ्ख्या ८७ लाख ९६ हजार ८८ रहेकोमा यस वर्षको सोही अवधिमा ५९.३३ प्रतिशतले बढेर १ अर्ब ४० लाख १४ हजार ८६६ पुगेको छ ।

त्यस्तै, बैदेशिक रोजगार बीमा सङ्ख्यामा पनि यस वर्ष ८५.४५ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको भदौ मसान्तसम्म ५ लाख ८७ हजार ५६३ बीमालेख रहेकोमा यस वर्ष बढेर १० लाख ८९ हजार ६५१ पुगेको छ ।

म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बीमा, जीवन बीमालेख बाहेक जीवन बीमालेख सङ्ख्यामा पनि ५७.४६ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा जीवन बीमालेख सङ्ख्या ५३ लाख ८९ हजार ९४२ पुगेको छ भने म्यादी र लघु म्यादी जीवन बीमालेखको सङ्ख्या ७५ लाख ३५ हजार २७३ पुगेको छ । गत वर्षको सोही अवधिमा म्यादी, लघु म्यादी जीवन बीमालेख सङ्ख्या ८२ लाख ८ हजार ५२५ रहेको थियो ।

कुल निर्जीवन बीमालेख संख्या ५.८९ प्रतिशतले घटेर ४ लाख ४५ हजारमा झरेको छ । गत बर्षको भदौ मुसान्तसम्म ४ लाख ७३ हजार पुगेको थियो । साथै, जीवन बीमा शुल्क संकलनमा पनि ७.४८ प्रतिशतले घटेको छ । गत वर्ष भदौको मसान्तसम्म २८ अर्ब १३ करोड ३६ लाख रुपैयाँ बीमा शुल्क संकलन भएकोमा यस वर्ष २६ अर्ब ३ करोड २७ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ ।

यस बर्ष निर्जीवन बीमा शुल्क संकलन भने २३.०७ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको भदौ मसान्तसम्म ६ अर्ब ३९ करोड ८१ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको यस वर्ष ७ अर्ब ८७ करोड ४२ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ ।

यस अवधिमा म्यादी, लघुम्यादि र वैदेशिक रोजगार जीवन बीमालेख बाहेक पाँच प्रतिशत घटाएर लिएको बीमालेखको सङ्ख्या ५१ लाख २० हजार ४४५ रहेको छ । त्यस्तै, पाँच प्रतिशत घटाएर लिएको म्यादी जीवन बीमालेख सहितको सङ्ख्या १ करोड २२ लाख ७८ हजार ९५४ रहेको छ । गत वर्षको सोही अवधिमा उक्त बीमालेख सङ्ख्या ७७ लाख ९८ हजार ९९ रहेको थियो ।

समितिको तथ्याङक अनुसार बीमा कम्पनीहरूको कार्यालयको सङ्ख्या ७.९३ प्रतिशतले बढेर ३ हजार ३६२ पुगेका छन् । त्यस्तै, यस अवधिमा बीमा कम्पनीका कर्मचारीको सङ्ख्या पनि ७.०७ प्रतिशतले बढेर ११ हजार ८८९ जना पुगेका छन् ।

प्रकाशित : ३० आश्विन २०७९, आईतवार १४:३५