काठमाडौं । गर्मीयाम बढेसंगै चिसो लस्सीको व्यापार पनि फस्टाउने गर्छ । त्यसमा पनि काठमाडौंको न्युरोडस्थित ईन्द्रचोकको लस्सी पसलको भीड हेर्ने हो भने रोचक लाग्छ । गिलासको ४५ रुपैंयादेखि ९० रुपैंयासम्म पर्ने लस्सी खान ईन्द्रचोकमा दैनिक हजारौको भिड लाग्ने गर्छ ।
इन्द्रचोकको लस्सी पसलमा कतिपयले मिनिरल वाटर हालेर लस्सी बनाउने गरेका छन् भने कतिपयले जारको पानी प्रयोग गरेर बनाउने गर्छन । यहाँ प्रयोग गरिने दही भक्तपुरको प्रसिद्ध हेज्जु कालिका डेरी लगाएत विभिन्न ठाउँबाट आउने गरेको छ । बिहान १० बजेदेखि बेलुका ९ बजेसम्म खुल्ला रहने ईन्द्रचोकको लस्सी पसलहरुमा जाडोमा अलि कमहुने लस्सी व्यापार गर्मी लागेसंगै ह्वात्तै बढ्ने व्यापारीहरु बताउछन् ।
लस्सीको व्यापार पानी पर्दा भने ठप्प हुने व्यापारीहरु बताउछन् । सिजनमा दिनको १५०० कपसम्म जाने लस्सी अफ सिजनमा २०० देखि ३०० गिलाससम्म जाने ईन्द्रचोक लस्सी भण्डारका संचालक भरतमान डंगोल बताउछन् । सानो कप र ठुलो कप गरेर दुई किसिमको राखिएको लस्सीको मुल्य प्रतिगिलास ४५ रुपैंया देखि ९० रुपैंयासम्म लिने गर्छन् । त्यसमा पनि मानिसहरुले बढी मात्रामा सानो कपको लस्सी खानेगरेको व्यापारी बताउछन् ।
इन्द्रचोकमा थुप्रै लस्सी पसल लाईनले राखिएका छन् । जसमा ईन्द्रचोक लस्सी भण्डार भनेर राखिएको छ । त्यहाँ भने सबैभन्दा सस्तो कपको प्रतिगिलास ४५ रुपैयादेखि ८० रुपैंयासम्म लस्सी खान सकिन्छ । डंगोल भन्छन्,’पसल राखेको ४ बर्ष भयो । राखेदेखि मुल्य बढाएको छैन, अरुले कति बढाईसके तर मैले आजसम्म मुल्य बढाएको नि छैन् । लस्सी तयार गर्दा पनि सबैले हेर्न मिल्ने गरि खुल्ला रुपले ‘मिनिरल वाटर’ प्रयोग गरेर बनाउछु, त्यसैगरी सिकेर व्यवसाय गर्न चाहनेका लागिपनि नि:शुल्क सिकाइदिन्छु ।
लस्सीमा लाग्ने काजु किसमिस, खुवा सबैको मुल्य बढेपनि आफुले पसल राखेदेखि अहिलेसम्म एउटै मुल्य कायम राखेको बताउदै सफा स्वच्छ सस्तो गुणस्तरयुक्त सेवा दिएकाले पनि होला व्यापारमा कुनै सम्झौता गर्नुनपरेको उनी बताउँछन् । छ महिना राम्रो व्यापार हुने लस्सीमा ३० देखि ४० प्रतिशत नाफा रहने गरेको उनले बताए ।
त्यसैगरी, ईन्द्रचोकमा जनकपुर दहि लस्सी भण्डार भन्ने अर्का लस्सी पसल छ । यहाँ सानो गिलास र ठुलो गिलासमा रोजेर खान पाईन्छ । सानो गिलासको प्रतिगिलास ५० रुपैंया पर्ने यस पसलमा ठुलो गिलासमा प्रतिगिलास ९० रुपैंयासम्म पर्नेछ लस्सी आफैले दहि बनाएर बनाउने गर्छन् । खासगरी दहीमा, चिनी, आइस राखेर बनाईएको लस्सी माटाको भाडामा राखेर जमाउने गरेको जनकपुर दहि लस्सी भण्डारका व्यावसायी शिवशंखर प्रसाद साहले बताए ।
लस्सी पसलबाट दैनिक २० देखि २५ हजारसम्म व्यापार हुने यस जनकपुर लस्सी पसलबाट आफुलाई महिनाको डेढ देखि २ लाखसम्म खुद नाफा रहने साहले बताए ।
यसरी भारतीय उपमहाद्वीपमा चलनचल्तीमा आएको विश्वास गरिएको लस्सी विशेष गरी गर्मी क्षेत्रमा पिउने गरिन्छ । भारतीय उपमहाद्वीपमा लस्सी बनाउँदा नून, मसला तथा फलफूलको पनि प्रयोग गरिन्छ भने कतिपय क्षेत्रमा स्वीट लस्सीको नाममा चिनी हालेर लस्सी खाने गरिन्छ ।
नेपालमा पनि काठमाडौंको ईन्द्र चोकको आकाश भैरव परिसरमा लस्सी खानेहरुको भिड लाग्ने गरेको पाईन्छ । बिभिन्न ठाउका मानिसहरुको सामान खरिद विक्रि गर्ने लगाएत कामका लागि आउने जक्सनको रुपमा रहेको यस ईन्द्रचोकको लस्सी पसलबाट धेरै मात्रामा मानिसहरुले लस्सीको स्वाद लिएर जाने गर्छन् । गर्मिको सिजनमा त झनै यहाँका व्यापारीहरुलाई व्यापार गर्न भ्याई नभ्याईनै हुनेगर्छ ।
Comment