बैंक तथा वित्तीय संस्थाबाट एकै दिन १० अर्ब रुपैंया बाहिरियाे, औसत सीडी रेसियो कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बैंक तथा वित्तीय संस्थाबाट एकै दिन १० अर्ब रुपैंया बाहिरियाे, औसत सीडी रेसियो कति ?



काठमाडौं । बैंकिङ प्रणालीबाट एकैदिन १० अर्ब रुपैयाँ बाहिरिएको छ। राष्ट्र बैंकको अनुसार असोज २४ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १० अर्ब रुपैयाँले घटेको हो।

गत असोज २३ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५१ खर्ब २७ अर्ब रुपैयाँ रहेको थियो भने असोज २४ गतेसम्म घटेर ५१ खर्ब १७ अर्ब रुपैयाँमा सिमित रहेको छ।

यस अबधिमा बाणिज्य बैंकहरुको मात्रै निक्षेप संकलन ११ अर्ब रुपैयाँले घटेको छ। अघिल्लो दिनसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब २३ अर्ब रुपैयाँ रहेकोमा असोज २४ गतेसम्म घटेर ४५ खर्ब १२ अर्ब रुपैयाँमा झरेको छ।

यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले घटेको छ। गत असोज २३ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४७ खर्ब २६ अर्ब रुपैयाँ रहेकोमा असोज २४ गतेसम्म घटेर ४७ खर्ब २५ अर्ब रुपैयाँमा झरेको छ।

त्यसैगरी, यस अबधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि १ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ८५ अर्ब रुपैयाँमा आइपुगेको छ। गत असोज २३ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ८६ अर्ब रुपैयाँ रहेको थियो।

बैंकहरूको निक्षेप संकलन घट्दा औसत सीडी रेसियो भने बढेको छ । असोज २४ गतेसम्म औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८७.०५ प्रतिशतबाट बढेर र ८७.२० प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : २६ आश्विन २०७९, बुधबार १७:०५