तरलता अभावको समस्या बढ्दै गएपछि बीग मर्जरको बाटोमा सहकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

तरलता अभावको समस्या बढ्दै गएपछि बीग मर्जरको बाटोमा सहकारी



काठमाडाै‌ । तरलता अभावको समस्या बढ्दै गएपछि सहकारीहरु मर्जरमा जान बाध्य बनेका छन् । सहकारी संस्थाहरु वलियो बनाउनका लागि पनि मर्जरको आवश्यकता भन्दै मर्जरको तातोमा लागेका हुन । सहकारी संस्थाहरु धेरै हुनुभन्दा थोरै तर राम्रा हुनुपर्नेमा उनिहरुको जोड छ ।

पछिल्लो समय यता काठमाडौका विभिन्न स्थानमा रहेर संचालित पाँचवटा सहकारीहरु एक आपसमा मर्ज हुने भएका छन् । आइडल यमुना बहुद्देश्यीय सहकारी संस्था, नेशनल नमोवुद्ध बचत तथा ऋण सहकारी संस्था, नागरिक कल्याण बहुद्देश्यीय सहकारी संस्था, सत्कार बचत तथा ऋण सहकारी संस्था र घेदुङ बहुदेश्यीय सहकारी संस्था लिमिटेड एक आपसमा मर्ज हुने सम्झौता गरेका हुन् ।

मर्जपछि संस्थाको कारोबार झण्डै ९ अर्ब रुपैयाँ पुग्ने छ । संस्थाका अनुसार मर्जपछि बन्ने संस्थाको बचत ४ अर्ब ६३ करोड ७० लाख ८ हजार ५९७ रुपैयाँ, ४ अर्ब ९९ करोड ४५ लाख ३९ हजार १२८ रुपैयाँ ऋण तथा लगानी पुग्नेछ । त्यस्तै संस्थाको कुल सम्पत्ति ७ अर्ब ५८ करोड १ लाख ७५ हजार १९६ रुपैयाँ पुग्ने पनि संस्थाले जनाएको छ ।

सम्झौता अनुसार मर्जभएपछिको सहकारीको नाम ‘नेशनल आइडल यमुना बचत तथा ऋण सहकारी संस्था लि.’ बन्नेछ भने अध्यक्ष ज्ञानबहादुर तामाङ र कार्यकारी प्रमुख कुयाङ लामा रहने सम्झौता भएको छ ।

यस्तै उपत्यकाकाकै एक दर्जन सहकारीहरुले मर्जर गर्ने भएका छन् । मर्जर सम्झौता गर्न लागेका सहकारीहरुमा जीवनदिप, सदस्य सेवा, शुभलाभ, शुभरत्न, गंगाजल, अष्ट , एभरट्रष्ट बचत तथा ऋण सहकारी, हाम्रो सेवा र सर्वोच्च बहुउद्देश्यीय सहकारी रहेका छन् ।

शुक्रबार ( आज) यी संस्थाहरु एक आपसमा मर्जरका लागि सम्झौता गर्न लागेका हुन् । उनिहरु आज नै मर्जरका लागि सहमतीमा जादै छन् ।

अगुवाहरु नै मर्जर अभियान

अहिले सहकारीबाट स्वीकृति पत्र लिएर ३० हजार भन्दा बढी सहकारी सञ्चालनमा रहेका छन् । यी मध्ये वित्तिय काराेबार गर्ने सहकारीको संख्या सबै भन्दा बढी छन् । विशेष गरि सहर बजारमा बचत र ऋणकाे काराेबार गर्ने सहकारीको संख्या बढी नै छ । जानकारहरुका अनुसार यत्ति धेरै संस्थाहरुको सुपरीबेक्षण र स्थलगत अनुगमन गर्नु नियामक निकायको सिमित जनशक्तिले भ्याउने संभावनै छैन । राजधानीमै केन्द्रित रहेको सहकारीकाे राम्रो सुपरीवेक्षण नहुँदा खराब कर्जा र संस्थागत सुशासनमा कमजोरीले बिग्रिएको उदाहरण हेर्दा जिल्ला जिल्लामा रहेका बचत ऋण सहकारीहरुको कस्तो हाल होला ? सहजै अनुमान लगाउँन सकिन्छ ।

संस्था धेरै हुँदा सुपरीवेक्षण गर्न समस्या भएको र अस्वस्थ प्रतिस्पर्धाले बिकृति बढाएर धेरै संस्था रोगी बन्ने संभावना बढ्दै गएको छ । समयमा नै प्रभावकारी अनुगमन नभएमा बिगतमा ओरेन्टल जस्तै धरासायी हुनसक्ने संभावना रहेकाले त्यसबाट पर्नसक्ने प्रभाव कम गर्न सहकारी संस्थाका अगुवाहरु नै मर्जर अभियानमा होमिन थालेका छन् ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले विभिन्न ठूला सहकारीहरुले दिएको सेवाको उदाहरण दिदै जति ठूलो सहकारी उति धेरै सेवा पाउने सक्ने दावी गरे । त्यसैगरी उनले नगरपालिकाभित्रका वित्तिय सहकारी कारोबार गर्ने सहकारीको दर्ता बन्द गर्नुपर्ने धारणा राख्दै नीतिगत रुपमा बहस पैरवी गर्नका लागि महासंघ निरन्तर लागिरहेको दावी गरे । त्यस्तै उनले अन्य संस्थाहरुले पनि एकीकरण अभियानलाई निरन्तरता दिनुपर्ने, संचालकहरुले पनि सदस्यको पैसामा रजाई नगरी सदस्यहरुको हितमा काम गर्नुपर्ने बताए ।

प्रकाशित : १७ भाद्र २०७९, शुक्रबार १२:३०