काठमाडौं । नेपाली कांग्रेसका इलाम सभापति डम्बर खड्काले भारत सरकारले नेपाली कृषिजन्य उत्पादनलाई पटक पटक अवरोध गर्दै आएकाले यसतर्फ सरकारको ध्यान दिनुपर्ने बताएका छन् । विदेशी मुद्रा आर्जन गर्दै मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको चिया निर्यातमा भारतले पुनः बखेडा झिकेको उनले बताए ।
सूर्योदय चिया उत्पादक संघले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा धारणा राख्दै सभापति खड्काले यसअघि भारतीय सरकारले अदुवालगायतका कृषिजन्य बस्तुमा अनेक बहानामा रोकछेक गरेको र हाल आएर अर्थोडक्स चिया निर्यातमा करको दायरा बढाएर निर्यातमै अवरोध गर्ने प्रयास गरिरहेको आरोप लगाए ।
‘केही स्वार्थी उद्योगी व्यवसायीहरुले भारतको माथिल्लो र तल्लो सदनका सांसदसम्म लगेर नेपालको चियालाई शतप्रतिशत भन्सार लगाउनुपर्छ भनेर रोक लगाउने अनि हरियो पत्ति ब्ल्याकमा किनेर भारतीय ब्रान्डमा नेपाली चिया बेच्ने प्रयास भइरहेको छ । यहाँ कुनियतका साथ काम भइरहेको छ । यसलाई नेपाल सरकारले रोक्नुपर्छ’, उनले भने,‘हामीलाई भारतले पटक पटक दुःख दिने काम गरिरहेको छ ।’
थोपा थोपा बटुलेर विदेशी मुद्रा संचिति गर्नुपर्ने बेलामा भारतको यस्तो प्रयासले नेपाललाई ठूलो घाटा हुने उनको भनाइ छ । प्रधानमन्त्री साथै सम्बन्धित मन्त्रीहरुलाई समस्या समाधान गर्न आफूले आग्रह गरेको पनि उनले जानकारी दिए ।
चियाको संवेदनशील यस्तो समस्या समाधान गर्न कांग्रेसले जोडदार पहल गर्ने उनले विश्वास दिलाए । चिया निर्यातमा ९५ प्रतिशत छुट हुँदै आएकोमा भारतले नेपाली चियालाई करको दायरामा ल्याउन खोजेको भन्दै चिया व्यवसायीहरुले विरोधमा उत्रिएका बेला सभापति ख्डकाले यस्तो अभिव्यक्ति दिएका हुन् । भारतीय चिया निकायले बाणिज्य सन्धिविपरित नेपाली चियाको निर्यातलाई दुरुत्साहन गर्न खोजेको व्यवसायीको आरोप छ ।
यसअघि सभापति खड्काले प्रधानमन्त्री शेर बहादुर देउवालाई पत्र लेख्दै नेपाली चिया निर्यातलाई प्रभावित पार्ने नीति तथा क्रियाकलाप रोक्न सरकारकातर्फबाट कूटनीतिक पहल थाल्न माग गरेका छन् ।
Comment