वाणिज्य बैंकहरुले कमाए ५३ अर्ब ९६ करोड नाफा, कुन कति अब्बल ? (विवरणसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

वाणिज्य बैंकहरुले कमाए ५३ अर्ब ९६ करोड नाफा, कुन कति अब्बल ? (विवरणसहित)



काठमाडौं । करिब डेढ दर्जन वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७८/७९ को चौंथौ त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरण अनुसार १९ वटा बाणिज्य बैंकहरुले चौथो त्रैमाससम्म आईपुग्दा कुल ५३ अर्ब ९६ करोड ४२ लाख रुपैयाँ भन्दा बढी नाफा आर्जन गरेका छन् । जुन बैंकहरुको नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा २१.९५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा बैंकहरुको नाफा ४४ अर्ब २५ करोड ५ लाख रुपैयाँ थियो ।

कुन कुन बैंकले सार्वजनिक गरे वित्तीय विवरण ?

हालसम्म ग्लोबल आइएमई बैंक, एनआईसी एशिया बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, सनराइज बैंक, लक्ष्मी बैंक, नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, सिद्धार्थ बैंक, प्राईम बैंक, कुमारी बैंक, कृषि बिकास बैंक, एनएमबी बैंक, हिमालयन बैंक र सानिमा बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । अहिलेसम्म १९ वटा बाणिज्य बैंकले वित्तीय विवरण सार्वजनिक गरेका छन् भने ८ बैंकले सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।

खुद नाफा कमाउनेमा कुन बैंक अब्बल ?

वित्तीय विवरण प्रकाशित गर्ने बैंकहरुमध्ये सबैभन्दा बढी नेपाल एसबीआई बैंकले खुद नाफामा वृद्धि गरेको छ भने, सबैभन्दा बढी नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ ।

नेपाल एसबीआई बैंकले अघिल्लो आवमा आर्जित खुद नाफालाई ७०.०४ प्रतिशतले वृद्धि गरी आव २०७८/७९ मा १ अर्ब ६३ करोड ८३ लाख रुपैयाँ पुर्याएको हो । ग्लोबल आइएमई बैंकले सोहि समयमा २५ प्रतिशतले खुद नाफामा वृद्धि गरी कुल ५ अर्ब २० करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

यस्तै, दोस्रो नाफाको वृद्धिमा स्ट्याण्डर्ड चार्डट बैंक र तेस्रोमा एनसीसी बैंक रहेको छ । स्ट्याण्डर्ड चार्डट बैंकले आव२०७८/७९ मा ६२.२६ प्रतिशतले खुद नाफामा वृद्धि गरी २अर्ब २६ करोड ९८ लाख रुपैयाँ पुर्याएको हो । भने,एनसीसी बैंकले अघिल्लो आवको खुद नाफामा ५१.९८ प्रतिशतले वृद्धि गरी २ अर्ब २ करोड रुपैयाँ पुर्याएको हो ।

साथै, अघिल्लो आवको खुद नाफामा गत आवमा प्रभु बैंकले ५१.११ प्रतिशत, सनराइज बैंकले ४८.६९ प्रतिशत, कुमारी बैकले ४३.८६ प्रतिशत, एभरेष्ट बैंकले ४३.७७ प्रतिशत, एनआइसी एशिया बैंकले ३८.८६ प्रतिशत, एनएमबी बैंकले ३६.५३ प्रतिशत, माछापुच्छ्रे बैंकले ३४.४३ प्रतिशत, सिटिजन्स बैंकले २४.७६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले १४.८३ प्रतिशत, सिद्धार्थ बैकले १२.७८ प्रतिशत, प्राइम कमर्सियल बैंकले १२ं.६३ प्रतिशत, लक्ष्मी बैंकले १.७६ प्रतिशतले वृद्धि गरेका छन् ।

अघिल्लो आवको तुलनामा गत आवमा सानिमा बैंक र हिमालयन बैंकको खुद नाफा भने घटेको छ । अघिल्लो आवमा सानिमा बैंकले २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । जसमा १‍.०७ प्रतिशतले घटेर गत आवमा बैंकको खुद नाफा २ अर्ब २९ करोड रुपैयाँमा सिमित भएको छ ।

हिमालयन बैंकको अघिल्लो आवमा खुद नाफा २ अर्ब ९९ करोड ८६ लाख रुपैंया भएकोमा गत आवमा १७.२२ प्रतिशत घटेर २ अर्ब ४८ करोड २१ लाख पुगेको छ । त्यसैगरी प्रकाशित भएका बैंकहरुमध्ये सबैभन्दा अघिल्लो आवको तुलनामा गत आवमा कृषि विकास बैंकको खुद नाफामा गिरावट आएको छ ।

अघिल्लो आवमा बैकको खुद नाफा ३ अर्ब ५२ करोड ७५ लाख रुपैंया भएकोमा गत आवमा २३.७४ प्रतिशत घटेर २ अर्ब ६९ करोड पुगेको छ ।

प्रकाशित : १९ श्रावण २०७९, बिहीबार १३:०४