पुँजीबजार सुधारका लागि सरोकारवाला निकायलाई चेम्बरको नितिगत सुझाव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

पुँजीबजार सुधारका लागि सरोकारवाला निकायलाई चेम्बरको नितिगत सुझाव



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले पुँजीबजारको विकासका लागि सरोकारवाला सरकारी निकायमा विभिन्न नीतिगत सुझाव पेस गरेको छ। चेम्बरले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक एवं नेपाल धितोपत्र बोर्डलाई छुट्टाछुट्टै नीतिगत सुझाव पेस गरेको हो।

पुँजीबजारको स्थिरता तथा लगानीमैत्री वातावरण सिर्जनाका लागि चेम्बरका तर्फबाट विभिन्न सुझाव पेस गरिएको अध्यक्ष राजेन्द्र मल्लले बताए। विभिन्न कारणले पछिल्लो समय पुँजीबजार धरासायी बन्दै गएको एवं लगानीकर्ताहरु निकै समस्यामा परेकाले समाधानका लागि सरोकारवाला तीनवटै निकायमा छुट्टाछुट्टै सुझाव पेस गरिएको अध्यक्ष मल्लको भनाइ छ।

धितोपत्र बजारबाट पुँजी निर्माणलाई प्रोत्साहन हुने गरी अन्तर्राष्ट्रियस्तरमा प्रचलनमा रहेबमोजिम विभिन्न कोषहरु सञ्चालनका लागि कर सम्बन्धमा यथोचित व्यवस्था गर्न चेम्बरले अर्थ मन्त्रालयसँग आग्रह गरेको छ।

धितोपत्रका विभिन्न औजारहरु कारोबारमा ल्याउँदा सोबाट हुने लाभमा कर लाग्ने व्यवस्था गर्दा लाभान्वितबाट लिइने व्यवस्था गरी धितोपत्र औजारको विविधीकरणलाई प्रोत्साहन गर्न पनि चेम्बरले सुझाव दिएको छ।

चेम्बरले नेपाल राष्ट्र बैंकलाई पनि छुट्टै तीनबुँदे सुझाव दिएको छ। मौद्रिक नीति सार्वजनिक गर्नुअघि पुँजीबजारलाई सम्बोधन गर्नुपर्ने विषय समावेश गरिएको अध्यक्ष मल्लले बताए।

चेम्बरले नेपाल धितोपत्र बोर्डलाई छुुट्टै १० वुँदे सुझावसमेत पेस गरेको छ। अन्तर्राष्ट्रिय प्रचलनबमोजिम धितोपत्र बजारसँग सम्बन्धित सम्पूर्ण नीतिगत, कार्यगत तथा प्रणालीगत सुधार गर्नुपर्ने चेम्बरको सुझावमा उल्लेख छ।

धितोपत्र बजारका पूर्वाधारहरुको उचित व्यवस्था गरी अन्तर्राष्ट्रिय बजारमा प्रयोगमा आएका विभिन्न प्रकारका धितोपत्र औजारहरु जारी गर्न सक्ने व्यवस्था तत्काल गर्नसमेत चेम्बरले धितोपत्र बोर्डसमक्ष आग्रह गरेको छ।

प्रकाशित : ५ श्रावण २०७९, बिहीबार १४:४३