काठमाडौं । धितोपत्र बोर्डको नेतृत्वले भारतीय पुँजी बजारको नियामक निकाय सेक्युरिटि एक्सचेञ्ज बोर्ड अफ इण्डिया(सेबी) भ्रमण गरेको छ । बोर्डका अध्यक्ष रमेश कुमार हमाल, का.मु. कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, उप कार्यकारी निर्देशक कृष्णराज पोखरेल र का.मु. उप कार्यकारी निर्देशक नारायण प्रसाद शर्मासहितको टोलीले भारतीय पुँजी बजारको अध्ययन भ्रमण गरेको हो ।
भ्रमणका क्रममा बोर्डका पदाधिकारीहरुले सेबी, बम्बई स्टक एक्सचेञ्ज (बि.एस.इ), नेशनल इन्स्टिच्युट अफ सेक्युरिटि मार्केटस(एन.आइ.एस.एम) र मल्टी कमोडिटि एक्सचेज अफ इण्डिया (एम.सि.एक्स.) का उच्च पदाधिकारीसँग भेटघाट तथा छलफल भएको जनाईएको छ ।

भारतीय धितोपत्र बजारको नियमन निकाय सेबीका अध्यक्ष श्रीमति माधवी पुरी बुच तथा बोर्ड अध्यक्ष हमालबिल शिष्टाचार भेटघाट तथा द्धिपक्षीय सहयोग आदान प्रदान सम्बन्धमा छलफल भएको थियो । सो क्रममा दुई अध्यक्ष बीच आगामी दिनमा यी निकायहरु बीच दिर्घकालीन सहकार्य स्थापित गरी समन्वय र सहकार्य गरी अगाडि बढने प्रतिवद्धता व्यक्त गरे ।

साथै नेपालको पुँजी बजार विकासको लागि भारतीय पुँजी बजारको उत्कृष्ट अभ्यासहरु तथा अभ्यासहरुको मुख्यतः संस्थागत क्षमता अभिवृद्धि, बजार नियमन तथा सुपरिवेक्षणमा स्वचालित अनलाईन सुपरिवेक्षण प्रणाली, नियामकीय सूचना प्रविधि व्यवस्था र वित्तीय साक्षरता अभिवृद्धिका लागि गरिनुपर्ने कार्य सम्बन्धमा आपसी सहयोग गर्ने सम्बन्धमा छलफल गरेका छन् ।
बोर्ड अध्यक्षयसहितको टोलीले बीएसइका प्रमुख कार्यकारी अधिकृत आशिष कुमार चौहानसहितको उच्च पदाधिकारीहरुसँग भेटघाट तथा छलफल गरेको थियो । सो क्रममा उक्त एक्सचेञ्जले प्रयोग गरिरहेको कारोबार प्रणाली, सुपरिवेक्षणका लागि गरेको व्यवस्था र साईबर जोखिम कम गर्नका लागि गरेको व्यवस्था सम्बन्धमा जानकारी प्राप्त हुनुका साथै प्रणालीको अवलोकन गरिएको थियो । सो क्रममा बिएसइका प्रमुखले नेपालको धितोपत्र बजार विकासका लागि सहयोग गर्न तत्पर रहेको भनाइ राखेका थिए ।
त्यस्तै वित्तीय साक्षरता अभिवृृद्धिका लागि सेबीको अग्रसरतामा स्थापित एन.आइ.एस.एम. को भ्रमण गरिएकोमा उक्त संस्थाको स्थापना, संरचना, संचालनमा रहेको स्कुलसम्बन्धी जानकारी लिनुका साथै आगामी दिनमा प्रभावकारीरुपमा वित्तीय साक्षरता अभिवृद्धिका लागि सेबोनद्वारा नेपालमा स्थापना गरिने पुँजी बजार प्रशिक्षण इन्स्टिच्युटको संचालनमा ल्याउन समन्वय तथा सहकार्य गर्ने छलफल भएकाे जनाइएकाे छ ।
यस भ्रमणले भारतीय बजारको नियमन व्यवस्था, कानुनी व्यवस्था, नियामकीय प्रविधिको विकास साथै नियमन निकायले बजारको विश्वसनीयता अभिबृद्धि गर्नका लागि खेल्नु पर्ने भूमिका र बजारको अनुगमन तथा सुपरिबेक्षण के कसरी गर्नु पर्दछ भन्ने विषयमा जानकारी प्राप्त भएको बोर्डले जानकारी दिएको छ ।
त्यसै गरी अध्ययनको क्रममा मुख्यतः रेगुलेटरी फ्रेम वर्क, डिजिटलाईजेशन अफ रेगुलेटरी सिस्टम, ट्रेडिङ सिस्टम, फाईनान्सियल लिट्रेसीका सम्बन्धमा अन्तरक्रियात्मक छलफल समेत भएको थियो ।





Comment