कर्णाली प्रदेशमा कृषि योग्य जमिन कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

कर्णाली प्रदेशमा कृषि योग्य जमिन कति ?



काठमाडौँ कर्णाली प्रदेशको समग्र कृषि बालीले ढाकेको क्षेत्रफल गत आर्थिक बर्षको तुलनामा चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ६.१९ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको कर्णाली प्रदेशको अर्धवार्षिक आर्थिक अध्ययन प्रतिवेदनमा यस्तो देखिएको हो ।


यस प्रदेशको प्रमुख बालीहरुमध्ये समीक्षा अवधिमा धान बालीले ढाकेको क्षेत्रफल ११.९० प्रतिशतले घटेको छ । त्यस्तै, मकै, गहुँ र जौ बालीले ढाकेको क्षेत्रफल समीक्षा अवधिमा क्रमशः ८.६५ प्रतिशत, ४.९५ प्रतिशत र ०.३६ प्रतिशतले घटेको छ ।


कोदो बालीले ढाकेको क्षेत्रफल ५.८१ प्रतिशतले वृद्धि हुँदा फापर बालीले ढाकेको क्षेत्रफलमा ४९.५३ प्रतिशतले वृद्धि भएको छ । प्रतिवेदन अनुसार भट्मास, दलहन र तेलहन बालीले ढाकेको क्षेत्रफल क्रमशः १.८१ प्रतिशत, १.६८ प्रतिशत र ०.०३ प्रतिशतले वृद्धि भएको छ ।


त्यसैगरी कर्णाली प्रदेशमा तरकारी तथा वागवानी बालीले ढाकेका ेक्षेत्रफल क्रमशः ११ हजार ६ सय ६५ हेक्टर र ४ हजार ७ सय ३५ हेक्टर रहेको छ । यो गत आर्थिक वर्ष पुस मसान्तको तुलनामा यो आर्थिक बर्षको पुस मसान्तसम्ममा कर्णाली प्रदेशमा समग्र कृषि बालीको उत्पादन ११.२४ प्रतिशतले घटेको देखिएको छ ।


खाद्य तथा अन्य बालीभित्र पर्ने प्रमुख कृषिबालीमा धान बालीको उत्पादन २१.८९ प्रतिशतले घटेको छ भने मकै उत्पादन २.०१ प्रतिशतले बढेको छ । कोदो र फापरको उत्पादन क्रमशः ४०.९० प्रतिशत र ९.४० प्रतिशतले घटेको छ । समीक्षा अवधिमा फापर बालीले ढाकेको क्षेत्रफलमा बढोत्तरी आएको भएपनि उत्पादकत्वमा गिरावट आएका कारण यस बालीको उत्पादन घटेको अनुमान गर्न सकिन्छ ।


कर्णाली प्रदेशमा आर्थिक बर्षको पुसमसान्तमा भने दूध उत्पादन ८.४८ प्रतिशतले बढेको छ । त्यस्तै, मासु उत्पादन ०.१२ प्रतिशतले घटेको छ भने अण्डा र माछा उत्पादन क्रमशः १३.३७ र १२.३३ प्रतिशतले बढेको छ ।


यस प्रदेशमा रहेको कुल खेतीयोग्य जमिन १ लाख ६७ हजार १ सय हेक्टरमध्ये ९६ हजार ३ सय ८३ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ । जसमध्ये ४३ हजार ३ सय ७५ हेक्टर क्षेत्रफलमा मात्र सिंचाई सुविधा पुगेको छ यस अबधिमा बैंक तथा वित्तीय संस्थाबाट कर्णाली प्रदेशको समग्र कृषि क्षेत्रमा प्रवाहित कर्जा गत वर्ष सोही अवधिको तुलनामा ३८ प्रतिशतले बढेर रु. ४ अर्ब ५४ करोड १४ लाख पुगेको छ ।

प्रकाशित : ३१ असार २०७९, शुक्रबार १३:५३