धार्मिक संघ संस्थाले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको आवाज उठाउनुपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

धार्मिक संघ संस्थाले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको आवाज उठाउनुपर्ने



काठमाडौं । अंग्रेजी बर्षको हरेक जुन महिनालाई यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले गौरवको महिनाको रुपमा मनाइरहेका छन् । यसै सिलसिलामा नील हिरा समाज(ब्लु डाइमन्ड सोसाइटी)ले विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइरहेको छ ।

समाजले आइतबार अन्तर धार्मिक संजालसँग यौनिक तथा लैङ्गिक अल्पसंख्यक, यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारका मुद्दाहरुमा अन्तरक्रिया गरेको छ । कार्यक्रममा अधिकारकर्मी भुमिका श्रेष्ठले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको अवस्थाका बारेमा प्रष्ट पारेकी थिइन ।

कार्यक्रममा विभिन्न धार्मिक ग्रन्थहरुमा समूदायको प्रसंग उल्लेख भए पनि धार्मिक अभियन्ताहरुले हक अधिकारका बारेमा आवाज नउठाएको गुनासो गरियो । हिन्दु, इसाइ, मुस्लिम, किराँतलगायतका धर्ममा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको कथा उल्लेख भएकाले समूदायका अधिकारका विषयमा धार्मिक अभियन्ताहरु प्रतिबद्ध भइदिन आग्रह गरिएको कार्यक्रम संयोजक संजय शर्माले बताए ।

उक्त कार्यक्रममा अन्तर धार्मिक संजालका अगुवाहरुले हरेक धार्मिक ग्रन्थमा सबै मानवलाई समान मानेकाले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको मुद्दामा काम गर्न आफूहरु प्रतिबद्ध रहेको जनाए । उनीहरुले स्थानीय तहबाट नै समूदायका हक अधिकार र विभिन्न मुद्दामा काम गर्नुपर्ने सुझाव दिए ।

नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले सहभागीहरुलाई स्वागत गर्दै समूदायका मुद्दामा स्वतस्फूर्त रुपमा काम गरिदिन धार्मिक अगुवाहरुलाई आग्रह गरिन । ‘राइट हियर राइट नाउ’ परियोजनाका बारेमा जानकारी दिंदै पिटर तामाङले समूदायका हक अधिकारका लागि सबै तह तप्काका व्यक्ति र संघ संस्थाले आवाज उठाउनुपर्ने औंल्याए ।

विभिन्न यौनिकता र लैंगिक पहिचान भएका व्यक्तिहरुले जुन महिनालाई रंगीन महिनाको रुपमा मनाउँदै आइरहेका छन् । समुदाय माथि हुने हिंसा, विभेदलाई अन्त्य गर्नका लागि जुन महिनालाई गौरवको महिना मान्ने चलन छ ।

किनकी मानव अधिकार सम्बन्धि विश्वव्यापी घोषणापत्रको धारा १ ले सबै मानव जातिको जन्म स्वतन्त्र रुपमा भएको र सबैको सम्मानपुर्वक मर्यादित जीवन जिउन पाउने अधिकारलाई सुनिश्चित गरेको भन्दै नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजनाहरु भइरहेको छ ।

प्रकाशित : २९ जेष्ठ २०७९, आईतवार २२:५४